काठमाडाैँ । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले फाल्गुन ३ गते राति १२ बजेदेखि १५ दिने निर्वाचन प्रचार–प्रसार अवधि सुरु भएको घोषणा गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फाल्गुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा तथा प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्न पाउनेछन्।
सो समयावधि सकिएसँगै ‘मौन अवधि’ सुरु हुने र त्यसपछि कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न नपाइने उनले स्पष्ट पारे। मौन अवधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्ने, छलफल गर्ने वा कानेखुसी गर्ने कार्यसमेत निषेध गरिएको आयोगको निर्देशन छ।
आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारहरूलाई अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च निर्माणलगायतका सम्पूर्ण खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधानभित्र रहेर मात्रै सहयोग स्वीकार गर्न पाइने आयोगले जनाएको छ।
त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार तथा मन्त्रीहरूले निर्वाचन प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधन प्रयोग गर्न नपाउने स्पष्ट गरिएको छ। आचारसंहिताको कडाइका साथ पालना गराउन केन्द्र र जिल्ला तहमा अनुगमन समितिहरू सक्रिय पारिएको आयोगले जानकारी दिएको छ।
अधिकांश राजनीतिक दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिबद्धता पत्र आयोगमा बुझाइसकेको जनाइएको छ। आइतबार रातिसम्म पेश गर्ने समयसीमा तोकिएको र केही दल अझै प्रक्रियामा रहेको आयोगले जनाएको छ।
घोषणा पत्रलाई दलहरूको कानुनी र नैतिक दायित्वको रूपमा व्याख्या गर्दै आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले आफ्नो योजना, कार्यक्रम, सुशासन र विकासका अवधारणाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ।
आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक तथा आम मतदातालाई सहयोग गर्न अपिल समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्