नेकपा (संयुक्त) को घोषणापत्र: सबै नेपालीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य सेवा सुधारको व्यापक योजना प्रस्तुत गरेको छ।

पार्टीका अनुसार देशका गरीब तथा विपन्न जनताको ठूलो हिस्सा आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित छ भने अत्यधिक बजारीकरणका कारण मध्यम वर्गीय परिवारले समेत दीर्घ रोग तथा महँगा उपचार धान्न सकिरहेका छैनन्।

“पाँच वर्षभित्रै आपतकालीन सेवा, विषपान तथा सडक दुर्घटनाको व्यवस्थापन गर्न सक्ने जनशक्ति र उपकरणसहित आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा सुनिश्चित गर्नुपर्नेछ। यसैगरी, सबै नागरिकलाई आयअनुसार बिमा शुल्क लाग्ने प्रणालीमार्फत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने पनि योजना छ,”घोषणापत्रमा भनिएको छ ।

पार्टीले अस्पतालहरूमा स्थानीयदेखि सङ्घीय तहसम्मको रिफरल प्रणाली (प्रेषण व्यवस्था) सुनिश्चित गर्ने, स्वास्थ्य शिक्षाबाट उत्पादित जनशक्तिलाई निश्चित समय अनिवार्यरूपमा स्वास्थ्य सेवामा लगाउने, साथै परम्परागत उपचार पद्धतिहरूको अनुसन्धान र संरक्षण गरी विकास गर्ने प्रतिवद्धता जनाएको छ।

“यदि प्रभावकारी कार्यान्वयनमा ध्यान दिइयो भने १० वर्षभित्र सबै नेपालीलाई महामारी र नसर्ने घातक रोगको उपचारसमेत गर्न सक्ने स्वास्थ्य व्यवस्था बनाउन सकिन्छ, जसले राष्ट्रका लागि क्रान्तिकारी उपलब्धि साबित हुनेछ,”घोषणापत्रमा भनिएको छ ।