काठमाडौँ । बिलबिजक बिनाको भन्सार छलीको सुपारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नागार्जुन नगरपालिका–४, सितापाइला स्थित सडक खण्डमा सवारी चेकजाँचका क्रममा अन्दाजी चार लाख रुपैयाँ बराबरको सुपारी बरामद गरिएको हो।
फागुन ७ गते राति १०ः३० बजे प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले बा.प्र. ०२–०२५ च ०३९७ नम्बरको गाडी जाँच गर्ने क्रममा बिलबिजक बिनाका ५० बोरा (करिब १ हजार किलोग्राम) सुपारी फेला पारेको थियो। उक्त सुपारी भन्सार छली गरी ल्याइएको प्रहरीले जनाएको छ।
सुपारीसहित गाडी चालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने २२ वर्षीय राम शरण बिसुन्केलाई नियन्त्रणमा लिइएको छ।
बरामद सामान तथा व्यक्तिलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँ पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्