पूर्व अर्थमन्त्री पौडेलको घोषणा पत्र : बुटवल–पोखरा सडक द्रूत मार्गदेखि स्थानीय समस्या समाधानसम्म


काठमाडाैँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही २ का लागि घोषणा पत्र सार्वजनिक गर्दै सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रूत मार्गमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।

घोषणापत्रमा सिद्धबाबामा निर्माणाधीन रकसेडसहितको सुरुङ मार्ग सम्पन्न गरी सञ्चालनमा ल्याउने ।

बुटवल–गोरुसिङ्गे राजमार्ग र बुटवल–नारायणघाट राजमार्गको स्तरोन्नति कार्य सम्पन्न गर्ने समावेश गरिएको छ । यस्तै पूर्वपश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने ।

राजमार्ग चौराहा–गोलपार्क सडकको स्तरोन्नति सम्पन्न गर्ने, बेलबास–बेथरी सडकको बाँकी काम सम्पन्न गर्ने , उक्त सडकलाई नहरपुरदेखि मैनाबगर र जितगढी पुलसम्म विस्तार गर्ने ,सैनामैना चव्रmपथको बाँकी काम सम्पन्न गर्ने पौडेलले घोषणा पत्रमा प्रतिबद्धता जनाएका छन् ।

हालको बसोबास क्षेत्र सुरक्षित रहने गरी नक्साङ्कन (डिजाइन) परिमार्जन गर्ने र तिनाउ–दानव नदी कोरिडोर सडक निर्माण कार्य अघि बढाउने, सैनामैनाको मेजर रोडअन्तर्गत पर्ने सडकहरूको निर्माण कार्य सम्पन्न गर्ने , पूर्वपश्चिम राजमार्गदेखि सैनामैना चव्रmपथ जोड्ने एक दर्जन लिङ्क रोडहरू निर्माण गर्ने विषय पनि घोषणा पत्रमा समावेश गरिएको छ ।

योगीकुटीदेखि तिलोत्तमामा निर्माणाधीन बुटवल मेडिकल कलेजसम्म जोड्ने सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने, योगीकुटी शान्तिचोक–डिङ्गरनगर–गोरकट्टा–पश्चिम पहुनी सडकको स्तरोन्नति गर्ने, तिलोत्तमा नगरपालिकाअन्तर्गत पूर्वमा ड्राइभर टोलबाट शिवपुर र पश्चिममा ड्राइभर टोलबाट पडसरीसम्मको सडक स्तरोन्नति गर्ने पनि पौडेलले आफ्नो घोषणा पत्रमा प्रतिबद्धता जनाएका छन् ।