नेपाललाई थप ४३.२ मिलियन डलर दिने तयारीमा आईएमएफ


अन्तर्राष्ट्रिय मुद्रा कोष -आईएमएफले नेपालसँगको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको सातौँ समीक्षा सम्पन्न गर्दै थप वित्तीय सहयोग उपलब्ध गराउने तयारी गरेको छ। काठमाडौंमा सम्पन्न आईएमएफ मिसनपछि नेपालले करिब ४ करोड ३२ लाख अमेरिकी डलर (३ करोड १३ लाख २ हजार एसडीआर) बराबरको रकम पाउने बाटो खुलेको हो।

सर्वत जहान नेतृत्वको आईएमएफ टोलीले फेब्रुअरी ६–२० सम्म नेपाल भ्रमण गरी सरकारी अधिकारीहरूसँग कार्यक्रमको प्रगति र आगामी नीतिगत प्राथमिकताबारे छलफल गरेको थियो। मिसनले २०२६ का लागि धारा ४ परामर्शसमेत सम्पन्न गर्दै ईसीएफअन्तर्गतका नीतिहरूमा कर्मचारीस्तरीय सहमति जुटाएको जनाएको छ।

यो समीक्षा कार्यकारी बोर्डबाट स्वीकृत भएपछि नेपालले थप रकम प्राप्त गर्नेछ। उक्त रकम प्राप्त भएपछि ईसीएफमार्फत नेपालले पाउने कुल वित्तीय सहयोग करिब ३८ करोड ४४ लाख अमेरिकी डलर पुग्नेछ।

आईएमएफका अनुसार चुनौतीपूर्ण आन्तरिक आर्थिक परिवेशका बीच पनि नेपालले ईसीएफ कार्यक्रम कार्यान्वयनमा समग्र प्रगति हासिल गरेको छ। बालकल्याण अनुदानको लक्ष्यबाहेक अधिकांश संरचनात्मक तथा नीतिगत सर्तहरू पूरा भएको मूल्यांकन गरिएको छ।

समीक्षाले विशेषगरी भन्सार सुधार रणनीति कार्यान्वयन, बैंकिङ क्षेत्रको कर्जा गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) र वित्तीय क्षेत्र सुदृढीकरणका प्रयासलाई सकारात्मक रूपमा लिएको छ। साथै, आईएमएफको सेफगार्ड मूल्यांकन र वित्तीय स्थायित्व प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंक ऐन संशोधनको मस्यौदा तयार भई संसद्मा विधेयक दर्ता हुनु पनि महत्वपूर्ण प्रगतिका रूपमा उल्लेख गरिएको छ।

आईएमएफ बोर्डबाट औपचारिक स्वीकृति पाएसँगै नेपालले चालु आर्थिक वर्षमै थप कर्जा सहायता प्राप्त गर्ने अपेक्षा गरिएको छ।