जग्गा सेवा अब वडाबाटै : काठमाडौंमा ‘भू–सेवा केन्द्र’ सुरु, मालपोत धाउनुपर्ने झन्झट घट्ने


काठमाडौँ महानगरपालिकाले जग्गासम्बन्धी सरकारी सेवा विकेन्द्रीकरण गर्दै वडा कार्यालयबाटै उपलब्ध गराउने नयाँ व्यवस्था सुरु गरेको छ। नागरिकलाई मालपोत कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित महानगरले ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको हो।

आइतबार आयोजित कार्यक्रममा कुमार इङ्नामले सेवाको औपचारिक शुभारम्भ गर्दै संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार काठमाडौँ उपत्यकामा अधिकांश नागरिकको प्रमुख सम्पत्ति जग्गा भएकाले अब मन्त्रालय वा विभाग धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर कार्यपालिकाको निर्णयअनुसार पहिलो चरणमा १० वडाबाट सेवा सुरु गरिएको जानकारी दिइन्। हाल वडा नं। ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा उपलब्ध छ भने आगामी चरणमा ३२ वटै वडामा विस्तार गर्ने योजना रहेको उनले बताइन्।

प्रणाली लागू भएसँगै राजश्व संकलन, बायोमेट्रिक विवरण दर्ता, जग्गा किनबेचका तमसुक तयार पार्ने, बैंक प्रयोजनका लागि रोक्का–फुकुवा तथा जग्गाधनी पुर्जा प्रिन्ट गर्ने जस्ता सेवा वडा कार्यालयबाटै प्रदान गरिनेछ। यसबाट मालपोत कार्यालयमा हुने भीडभाड घट्ने र सेवा प्रवाह थप सहज हुने महानगरको विश्वास छ।

प्राविधिक तथा भौतिक तयारीका कारण सेवा चरणबद्ध रूपमा विस्तार गरिने बताइएको छ। पहिलो चरणको अनुभवका आधारमा आगामी महिनाहरूमा महानगरका सबै वडामा ‘भू–सेवा केन्द्र’ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।