पहुँचयुक्त पर्यटन: नेपालको समृद्धिको ‘मिसिङ लिङ्क’ र राजनीतिक उदासीनता


नेपालको राजनीति यतिबेला चुनावी घोषणापत्रका रङ्गीन रकेटहरू उडाउन व्यस्त छ। रेलका लिकदेखि पानीजहाजका सपनासम्मका शब्दजालमा एउटा गम्भीर र मानवीय पक्ष भने निकै ‘ओझेल’ मा परेको छ।

त्यो हो- पहुँचयुक्त पर्यटन (Accessible Tourism)। विश्वको कुल जनसङ्ख्याको करिब १५ प्रतिशत (१.३ अर्ब) मानिस कुनै न कुनै प्रकारको अपाङ्गताका साथ बाँचिरहेका छन्। तर नेपालका प्रमुख राजनीतिक दलहरूका घोषणापत्र पल्टाउँदा लाग्छ, पर्यटन भनेको केवल तन्दुरुस्त र तन्नेरीहरूका लागि मात्र हो।

​किन अटाउँदैन घोषणापत्रमा ?

​१) हाम्रा राजनीतिक दलहरू पर्यटनलाई सङ्ख्यामा मात्र हेर्छन् ‘समावेशी पहुँच’ मा होइन। घोषणापत्रमा ‘पर्यटकको सङ्ख्या दोब्बर बनाउने” नारा त लेखिन्छ, तर ती पर्यटक आउँदा उनीहरूले प्रयोग गर्ने शौचालय ह्विलचेयर मैत्री छ कि छैन? होटलका कोठामा ब्रेल लिपि छ कि छैन? वा हाम्रा पर्यटकीय बसहरूमा र्याम्प छ कि छैन? भन्ने कुरामा कसैको ध्यान पुग्दैन। ​

तथ्य: यदि नेपालले आफ्नो कुल पर्यटकीय संरचनाको १० प्रतिशत मात्र पहुँचयुक्त बनाउन सक्यो भने विश्वका करोडौँ ज्येष्ठ नागरिक र अपाङ्गता भएका पर्यटकहरूको पहिलो रोजाइ नेपाल हुनेछ।

​२) यो केवल दया होइन, ‘डलर’ हो (आर्थिक रणनीति) ​अपाङ्गता भएका व्यक्तिको पहुँचका कुरा गर्दा धेरैले यसलाई ‘सामाजिक सेवा’ वा ‘दया’ को रूपमा मात्र बुझ्छन्।

तर यो त विशुद्ध आर्थिक रणनीति हो: ​पारिवारिक यात्रा: एकजना अपाङ्गता भएको व्यक्ति प्रायः एक्लै हिँड्दैन। उनीसँगै कम्तीमा २ देखि ३ जना सहयोगी वा परिवारका सदस्य हुन्छन्। यसले ‘पर्यटक खर्च’ लाई सिधै गुणात्मक रूपमा बढाउँछ। ​

सिजनको समस्या हल: ज्येष्ठ नागरिक र अपाङ्गता भएका पर्यटकहरू प्रायः भीडभाड नहुने ‘अफ-सिजन’ मा यात्रा गर्न रुचाउँछन्। यसले नेपालको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउन सक्छ। ​

३) हाम्रो सपना र सम्भावनाको तस्विर ​कल्पना गरौँ त-नर्वेको एक दृष्टिबिहीन नागरिक राराको मुर्मा टपमा उभिएर त्यहाँको हावा महसुस गरिरहेका छन्। ​अमेरिकाको स्पाइनल इन्जुरी भएको व्यक्ति डोटीको सिलगढीमा ह्विलचेयरमै बसेर सुदूरपश्चिमको मौलिकता नियाल्दै छन्। ​

फिनल्याण्डको बोलाई सम्बन्धी अपाङ्गता भएको साथी सगरमाथा आधार शिविरमा प्रविधिको सहयोगले कुरा गर्दै छन्। ​यो दृष्य असम्भव छैन, केवल राजनैतिक इच्छाशक्ति र पूर्वाधारको खाँचो छ। ​

दलहरूलाई चुनौती: के गर्न सकिन्छ? ​

अबको चुनावी एजेन्डामा ‘पहुँचयुक्त पर्यटन’ लाई समेट्न निम्न बुँदाहरू अनिवार्य छन्: ​कानुनी अनिवार्यत: नयाँ बन्ने होटल, सार्वजनिक भवन र पदमार्गहरू अनिवार्य रूपमा ‘यूनिभर्सल डिजाइन’ (Universal Design) मा आधारित हुनुपर्ने। ​कर छुट र सहुलियत: पहुँचयुक्त पूर्वाधार बनाउने होटल र ट्राभल एजेन्सीहरूलाई विशेष कर छुटको व्यवस्था। ​

दक्ष जनशक्ति: पर्यटन कलेजहरूमा ‘पहुँचयुक्त पर्यटन’ लाई पाठ्यक्रममै समावेश गर्ने र गाइडहरूलाई सांकेतिक भाषा तथा अपाङ्गता सचेतना तालिम दिने। ​डिजिटल पहुँच: नेपालका सबै पर्यटकीय वेबसाइटहरूलाई ‘अपाङ्गता मैत्री’ (Accessibility Standard) बनाउने। ​निष्कर्ष ​पहुँचयुक्त पर्यटन भनेको अपाङ्गता भएका व्यक्तिका लागि मात्र होइन, यो त हामी सबैका लागि हो। किनकि आजको तन्दुरुस्त व्यक्ति भोलि ज्येष्ठ नागरिक हुनेछ, वा कुनै दुर्घटनाले अस्थायी अपाङ्गता हुन सक्छ।

त्यसैले, पहुँचयुक्त संरचना बनाउनु भनेको सबैका लागि सुरक्षित भविष्य निर्माण गर्नु हो। ​राजनीतिक दलहरूले बुझ्न जरुरी छ- जब राराको बाटो ह्विलचेयरका लागि सहज हुन्छ, तब त्यो बाटो हाम्रा वृद्ध आमाबुवा र साना नानीहरूका लागि पनि उत्तिकै सहज हुन्छ। अबको नेतृत्वले घोषणापत्रमा ‘पहुँचयुक्त पर्यटन’ लाई केवल शब्दमा होइन, बजेट र योजनामा समेट्ने आँट गरोस् ।