आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध, सुटुक्क सेयर मिसाएर अर्बौंको चलखेल गर्ने खेल रोक्छौंः सीडीएससी


काठमाडाैँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका (आईजिन निर्देशिका) लागू गर्न खोज्दा ठूलो दबाब र अवरोध खेप्नुपरेको बताएको छ । 

पुँजी बजारको पारदर्शिता र लगानीकर्ताको सुरक्षाका लागि ल्याउन लागिएको यो निर्देशिका रोक्न ‘अदृश्य शक्ति’ हरु सक्रिय रहेको सीडीएससीले दाबी गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा संस्थाकी प्रमुख कार्यकारी निर्देशक प्रविन पन्दाकले १५ वर्षअघि नै कानूनमा रहेको व्यवस्था कार्यान्वयन गर्न खोज्दा हप्काई, दप्काई र कानूनी लडाईं समेत भोग्नुपरेको बताइन् ।

पुँजी बजारमा पारदर्शिता, निष्पक्षता र अखण्डता जस्ता मूल्य मान्यतामा कुनै सम्झौता हुन नसक्ने भन्दै उनले यो निर्देशिका सुशासनको पहिलो कडी भएको उल्लेख गरिन् । 

उनले भनिन्, “पुँजी बजारमा ट्रान्सपरेन्सी, फेयरनेस, इक्वालिटी र इन्टिग्रिटी जस्ता मूल्य मान्यता नन–नेगोसिएबल हुन् । यो आईजिन निर्देशिका बनाउँदा मैले दबाब, प्रभाव, टर्चर, हिंसा, हप्काई, दप्काई र कानूनी लडाईं समेत सम्पूर्ण अवस्थाहरु भोगिसकेको छु । यो कार्यक्रम समेत हिजोसम्म क्यान्सिल गर भन्ने सम्मको दबाब थियो, जुन निकै ठूलै अदृश्य शक्ति जस्तो लाग्छ ।”

उनकाअनुसार संस्थापक शेयर र सर्वसाधारण सेयरको मूल्यमा ठूलो अन्तर रहेको नेपाली बजारमा यी दुईलाई सुटुक्क मिसाउँदा लगानीकर्तामाथि ठूलो अन्याय भइरहेको छ । निर्देशिकाले संस्थापक सेयरलाई लक–इन अवधिभर फरक आईजिनमा राख्ने र विधिपूर्वक मात्र सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने व्यवस्था गरेको छ ।

सीडीएससीले यो निर्देशिका, २०८२ साल साउन ११ गते नै स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाइसकेको छ । तर लामो समय बितिसक्दा पनि बोर्डबाट स्वीकृति प्राप्त नभएकोमा उनले चिन्ता व्यक्त गरिन्। 

“हामीले निर्देशिकामा कहिल्यै नमिसाउनु भनेका छैनौं, विधिपूर्वक मिसाउनु तर सुटुक्क नमिसाउनु मात्र भनेका हौं,” उनले भनिन्, “सुटुक्क मिसाउँदा ४१ करोडको संस्थापक शेयर छिनभरमै ५ अर्बभन्दा बढीको मूल्यमा परिणत हुन्छ । सर्वसाधारण लगानीकर्तालाई आधा मूल्यको शेयर महँगोमा भिडाएर झुक्याउने कार्य रोक्नु नै हाम्रो मुख्य उद्देश्य हो ।”

अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै उहाँले एउटै आईजिन कायम गर्न खोज्ने पक्षहरुले ‘फन्जिबिलिटी’ को गलत व्याख्या गरेको तर्क गरिन् । संस्थापक र सर्वसाधारण शेयरको अधिकार, भोटिङ र होल्डिङ क्षमता नै फरक भएको अवस्थामा शुरुमै एउटै आईजिन दिनु कानूनी रुपमा समेत त्रुटिपूर्ण हुने बताइन् ।

हाल यो निर्देशिका धितोपत्र बोर्डको कानून उपसमितिमा अध्ययनको क्रममा रहेको छ । सीडीएससीले पुँजी बजारको विश्वसनीयता र पारदर्शिता जोगाउन बोर्डका अध्यक्ष र सञ्चालकहरुले उचित निर्णय लिने विश्वास व्यक्त गरेको छ ।