पर्वतारोहणमा फेक रेस्क्यू प्रकरणमा थप दुई जना पक्राउ


काठमाडौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जना व्यक्तिहरूलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका–३१ का सिंह आज पक्राउ परेका छन् भने धादिङको ज्वालामुखी गाउँपालिका–२ का तिवारी मंगलबार पक्राउ परेका थिए।

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अहिलेसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनीसहित नौ जनालाई पक्राउ गरिएको छ।

अनुसन्धानबाट अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दै स्वास्थ्य समस्या परेका विदेशी पर्यटकको उद्धार गरेको देखाएर बिमा रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ उठाएको खुलेको प्रहरीले जनाएकाे छ।