काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्षमा ५ जना आकाङ्क्षी देखिएका छन् ।
सुुरकृष्ण बैद्य, रामचन्द्र सांघाई, दिनेश श्रेष्ठ,भाष्करराज राजकर्णिकार र किशोर प्रधानले अञ्जन पक्षबाट वरिष्ठ उपाध्यक्षमा आकाङ्क्षा देखाएका हुन् ।
हेमराज ढकालले भने फागुन ११ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
चारजनाको दाबी भए पनि श्रेष्ठ समूहले प्यानल घोषणा गर्न बाँकी छ । अञ्जन वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनी विधानअनुसार स्वत : अध्यक्ष बन्नेछन् ।
अञ्जनको समूहमा प्रत्यक्ष चुनाव लड्नका लागि बस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट्स उपाध्यक्षमा प्रबलजंग पाण्डे,जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठको तय भइसकेको छ । नवनिर्वाचित कार्यसमितबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ ।
सुरकृष्ण महासङ्घमा अहिले उद्योग वाणिज्यतर्फका उपाध्यक्ष हुन् भने दिनेश श्रेष्ठ उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष हुन् ।
साङ्घाई यसअघि एसोसिएट् उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । भाष्करराज राजकर्णिकार पनि महासङ्घको पूर्वउपाध्यक्ष हुन् ।
संसोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कार्यसमितिमा बहुमत ल्याउनुपर्छ । हेमराज ढकालले उम्मेदवारी घोषणा गरेपछि अर्को पक्ष पनि वरिष्ठ उपाध्यक्ष अगाडि सारेर जानुपर्ने दबाबमा परेको छ ।
किशोर प्रधान जिल्लानगरबाट दुईपटक उपाध्यक्ष भए पनि वरिष्ठ उपाध्यक्षमा दुइपटक नै पराजित भएका थिए ।
उनी शेखर गोल्छा र चन्द्र ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।
सांघाई गएको साधारण सभामा पहिलो चरणबाटै बाहिरिएका थिए ।
अहिले अञ्जन समूहबाट वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका सुरकृष्ण र सांघाई अघिल्लो चुनावमा अर्को प्यानलमा थिए ।
अञ्जन समूहले चैतको पहिलो हप्ता उम्मेदवारी घोषणाको तयारी गरेको छ । यद्यपी अहिले नै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा नगर्ने मनस्थितिमा यो समूह छ ।


प्रतिक्रिया दिनुहोस्