२४ घण्टामा देशभर २८ विपद्का घटना, एक जनाको मृत्यु र १२ घाइते


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । ती घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा सत्य नारायणको पूजा भइरहेकै बेला चट्याङ पर्दा १४ वर्षीया एक बालिकाको मृत्यु भएको हो ।

सोही घटनामा अन्य दुई जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनाबाट करिब १८ लाख ३३ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ भने २५ वटा चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा आगलागीका घटनाबाट पनि उल्लेख्य क्षति पुगेको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

कपिलवस्तुको चोरेखोलामा ग्यास लिक भएर आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ भने दाङको तुलसीपुरमा आगलागीबाट १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै मोरङ, सप्तरी, सिरहा, रौतहट र लमजुङलगायतका जिल्लामा पनि आगलागीका घटनाहरू भएका छन् । सिरहा र सर्लाहीमा भएका आगलागीका घटनामा दुई जना घाइते भएका छन् ।

चट्याङ र अन्य प्राकृतिक प्रकोपका कारण इलाम, संखुवासभा, खोटाङ र बागलुङमा मानवीय तथा पशुधनको क्षति भएको छ । इलाममा चट्याङ लागेर चार जना घाइते भएका छन् भने बागलुङमा १२ वर्षीय एक बालक बेहोस भएका छन् । संखुवासभा र खोटाङमा चट्याङका कारण चौपायाको मृत्यु हुनुका साथै केही भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

जंगली जनावरको आक्रमणका घटनामा पनि क्षति भएको छ । मुस्ताङको लोमान्थाङमा हिउँचितुवाको आक्रमणबाट नौ वटा च्याङ्ग्रा मरेका छन् भने १० वटा घाइते भएका छन् ।

कैलालीमा बाघको आक्रमणबाट १० वटा बाख्राको क्षति भएको छ । यस्तै बारामा जंगली हात्तीले घरभित्रको अन्नपात नष्ट गर्दा करिब ७७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सिन्धुपाल्चोकमा भने कुकुरको टोकाइबाट एक प्रहरी जवान घाइते भएका छन् ।

मौसमको अवस्थाबारे प्राधिकरणले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा संखुवासभाको नुम केन्द्रमा सबैभन्दा बढी ३७ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तापक्रमतर्फ झापाको दमकमा सबैभन्दा बढी ३२ दशमलव ५ डिग्री सेल्सियस र सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम माइनस ० दशमलव ५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले विपद्का घटनाबाट थप क्षति हुन नदिन स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लाई सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ ।

साथै ग्यास सिलिण्डर प्रयोगमा सावधानी अपनाउन, विद्युतीय तारको नियमित मर्मत गर्न र चट्याङको समयमा सुरक्षित स्थानमा रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्सम्बन्धी थप जानकारीका लागि प्राधिकरणको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।