काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिएका छन् ।
शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।
सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताए । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाइ थियो ।
देश एक्लै नबन्ने उल्लेख गर्दै उहाँले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताए ।
सभापति थापाले भने,”तपाईहरुले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यता कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर २ जनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाईरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। मैले भोली प्रधानमन्त्री बन्ने मौका पाएभने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६, ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिदैन ?”
सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाईरल हुने पक्षमा नरहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्