काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भएका मध्यपश्चिम यातायात सेवा प्रा.लि.का अध्यक्ष तथा प्रजातान्त्रिक यातायात व्यवसायी संघका उपाध्यक्ष विष्णु बहादुर खड्कालाई यातायात व्यवसायीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले आइतबार शुभकामना सन्देश जारी गर्दै खड्काको विजयले यातायात क्षेत्रको प्रतिनिधित्व संसदमा थप बलियो हुने विश्वास व्यक्त गरेका हुन्।
सन्देशमा विष्णु बहादुर खड्काको निर्वाचनसँगै सार्वजनिक यातायात क्षेत्रका समस्या, चुनौती र आवश्यकता अब नीतिगत तहमा प्रभावकारी रूपमा उठान हुने अपेक्षा गरिएको उल्लेख गरिएको छ।
अध्यक्ष बानियाँले खड्काले सार्वजनिक यातायातसँग सम्बन्धित नीति निर्माण तथा सुधारका विषयमा संसदभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन्।
निर्वाचनमा खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी ध्रुवकुमार शाही ले १८ हजार ८९० मत प्राप्त गरेका थिए। शाही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार थिए।
खड्काको जन्म वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत, भएको हो। उनले विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। २०३६ सालमा बहुदलीय व्यवस्थाको पक्षमा उभिँदै राँके जुलुस निकाल्ने, भित्ते लेखन गर्ने तथा पर्चा–पम्पलेट छपाएर वितरण गर्ने गतिविधिमा उनी सक्रिय रहेका थिए। त्यसैगरी जनआन्दोलन २०४६ का क्रममा पनि उनी अग्रपंक्तिमा रहेर सुर्खेतमा आन्दोलन सञ्चालनमा सक्रिय रूपमा सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस्