ग्लोबल आइएमई बैङ्कद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’ स्थापना


काठमाडाैँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।

बिहीबार बैङ्कमा आयोजित एक विशेष कार्यक्रमबिच बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन् ।

नेपालमै पहिलो पटक सुरू गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैङ्क खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।

विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउनबैङ्कले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।

विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैङ्कले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैङ्कले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैङ्कले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैङ्कका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दै आएको छ ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैङ्कको बुझाइ रहेको छ ।

विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैङ्कले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरुको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरुको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो ।” उनले भने ।

यसै अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए।

“यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैङ्कले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,” उनले भने ।

उनले यस पहलसँगै ग्लोबल आइएमई बैङ्क विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए।

उक्त शुभारम्भ कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरुको उपस्थिती रहेको थियो ।

बैङ्कले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

यस विभागको कार्यालय ग्लोबल आइएमई बैङ्कको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।

बैंकको प्रत्यक्ष टेलिफोन नम्बरहरू ९७७–०१४५४४५१५, ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected] र ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकहरूले सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।