मध्यपूर्वी देशमा देखिएको संकटले आर्थिक वृद्धिमा असर गर्नेछः भट्ट


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टले मध्यपूर्वी देशहरुमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रुपमै असर गर्ने बताएका छन् । 

आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताएका हुन् ।

उनकाअनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढाउने देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएअनुसार युद्धका कारण एक ब्यारलको १० प्रतिशतले मूल्यवृद्धि हुन्छ भने ०.४ प्रतिशत क्वाइन्टले मुद्रास्फ्रीति बढ्छ ।

त्यसरी हेर्दा ०.१५ प्रतिशत क्वाइन्टले आर्थिक वृद्धि घट्छ भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ । उनकाअनुसार द्वन्द्व लामो समय रही रहे २५ प्रतिशतले तेलको मूल्य बढ्ने खतरा छ । 

अहिले युद्धका कारण भारत, नेपाल लगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ । यसले विस्तारै अभाव बढ्न सक्ने उनले बताए । युद्धका कारण खाद्यन्नदेखि ग्यासहरु जोहो गर्न मानिसहरु लाग्दा ती वस्तुहरुको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरु समेत लाग्नसक्ने भट्टले बताए ।

उनकाअनुसार मुद्रास्फ्रीतिको असर सबैभन्दा बढी तल्लो वर्गका मान्छेमा पर्छ । मूल्यवृद्धि हुँदा बित्तीकै गरिबीदेखि आय असमानता समेत बढ्ने खतरा रहेको उनले बताए । विश्वमा भइरहेका युद्धका कारण नेपालको आर्थिक वृद्धिदरमा समेत असर परिरहेको पूर्वकार्यकारी निर्देशक भट्टले उल्लेख गरे । 

भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा समेत गिरावट आउन सक्ने खतरा रहेको बताए । उनकाअनुसार  मध्यपूर्वि देशमा मात्रै ४० प्रतिशत नेपाली कामदारहरु कार्यरत छन् । उनीहरु प्रभावित हुँदा बित्तिकै रेमिट्यान्स कम हुने र आगामी दिनमा विदेशी सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उनले बताए । 

विदेशी सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरुले समेत सहायताका लागि नपत्याउने स्थीति बन्न सक्ने भट्टले उल्लेख गरे । युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमा रहने श्रमिकहरुको व्यवस्थापन ठूलो चुनौतीपूर्ण बन्ने सक्ने उनको भनाइ रहको छ ।