काठमाडाैँ । औषधि व्यवसायीहरूले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा सहभागी औषधि व्यवसायीहरूले यस्तो माग गरेका हुन्।
एप्पोनका मिडिया संयोजक शैलेस वैद्यका अनुसार सरकारले नीतिगत रूपमा सहुलियत दरमा ऋण प्रवाह र कर छुटको व्यवस्था गर्न सके नेपालमा औषधि उत्पादनलाई गुणस्तरीय बनाउँदै छिट्टै आत्मनिर्भर बन्ने सम्भावना रहेको छ।
उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै नीति निर्माणदेखि आयात नीतिसम्म उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, नयाँ प्रविधि भित्र्याउने, प्राविधिक क्षमता अभिवृद्धि गर्ने, सहुलियतपूर्ण ऋण र अनुदान उपलब्ध गराउनेजस्ता उपायले औषधि उद्योगको क्षमता विस्तार भई देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त एक्स्पो आज समापन हुँदैछ। एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरूले औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, प्रयोगशाला उपकरण, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा उत्पादन मेसिनहरूको प्रदर्शन गरेका थिए।
एप्पोनका अनुसार एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा चिकित्सक, नर्स, औषधि उत्पादक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्