फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब रूपैयाँ राजश्व


काठमाडाैँ । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख रूपैयाँ राजश्व संकलन गरेको हो ।

गत आ.व.को सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधीमा भ्याट, अन्तःशुल्क भन्सार महशुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शिर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन ।

अर्थ मन्त्रालयकाअनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन । आयकरतर्फ फागुनसम्म एक खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने एक खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो ।

गत आ.व.को फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख रूपैयाँ ब्याज कर संकलन भएको थियो । जबकि चालु आ.व.मा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । 

भन्सार महशुल चालु आ.व.को फागुन मसान्तसम्ममा  एक खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । 

आठ महिनामा कति भयो खर्च ?

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब रूपैयाँ कुल बजेट खर्च गरेको छ । चालु आ.व.का लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । 

चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये  सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन् । 

पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब रूपैयाँ खर्च गरेको छ  । 

सार्वजनिक ऋणको सावाँ ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ ।

पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ ।