रू.२२ करोड भन्दा बढी जरिबाना तोकिएका नेपाल सेयर मार्केट एन्ड फाइनान्सका तत्कालीन अध्यक्ष पक्राउ


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई सर्वोच्च अदालतले २०८१ भदौ ५ गते विभिन्न दुईओटा मुद्दामा ६ वर्ष कैद र रु २२ करोड भन्दा बढी जरिबाना तोकेको थियो ।

श्रेष्ठलाई दुईओटा मुद्दामा क्रमशः रु.१९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा जरिबाना र तीन वर्ष कैद र .३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिबाना र तीन वर्ष कैदको फैसला भएको थियो ।

उनलाई सिआइबीको टोलीले काठमाडौँको नागर्जुन नगरपालिका वडा नं. ५ सितापाईलाबाट आज पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ ।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष रहँदा अनियमित एवं गैरकानुनी तरिकाले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसूरमा संलग्न रहेको मुद्दामा सर्वोच्च अदालतले श्रेष्ठ विरुद्ध फैसला सुनाएको थियो ।