महासङ्घको चुनावमा सर्वसम्मतिको बाटो पहिल्याउँ


नेपाल उद्योग वाणिज्य महासङ्घमा म अध्यक्ष भएर कार्यकाल पुरा गरेको २६ वर्ष भएछ । सायद धेरैलाई त थाहा पनि छैन ।

चैत्र २८ गते उद्योग वाणिज्य दिवस । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा हुन्छ, चुनाव हुन्छ र हुनुपर्छ भन्ने मान्यता लिएर साथीहरू अगाडि बढिरहेको जस्तो लाग्छ ।

उद्योग वाणिज्य महासङ्घ निजी क्षेत्रको सर्वोच्च संस्था हो । हामीले के गर्ने र के नगर्ने भन्ने विषयलाई सोंच्नुपर्छ ।

चुनावको माहोल छ । भर्खरै मात्रै राष्ट्रिय चुनाव (प्रतिनिधि सभाको चुनाव) भइसक्यो । एउटै पार्टीको झण्डै दुईतिहाइ आइसकेपछि हामीलाई के विश्वास छ भने अब पाँच वर्षसम्म एउटा स्थिर सरकार हुन्छ ।

यो हामीले सोँच्दै,माग्दै आएका पनि थियौँ । चुनावपछि ऊर्जावान, नयाँ मन्त्रीहरू आउने छन् ।

राम्रो सोँच भएका व्यक्ति आउनेछन् भन्ने हामीलाई विश्वास छ । अब निजी क्षेत्र पनि एकताबद्ध भएर जानुपर्छ र एैक्यबद्धता देखाउनुपर्छ । हामी लडेर हैन अगाडि बढ्नको लागि हाम्रो सोच, दृष्टिकोण र आवाज एउटै हुनुपर्छ ।

व्यवसायी क्षेत्रको उच्च निकाय भए पनि आज हामी कुन ठाउँमा छौँ भनेर अलिकति मूल्याङ्कन गर्नुपर्छ ।

आज यो लाइनमा(छलफलमा बसेका व्यक्ति)देख्दा अब भावी वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू,चुनावमा लड्नेहरू, एसोसिएट्देखि वस्तुगत उपाध्यक्षमा लड्ने व्यक्ति छन्, अब अञ्जन(वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ) त स्वतः अध्यक्ष हुने नै भयो ।

म साथीहरूलाई विशेष गरेर भन्न चाहन्छु भने हाम्रो विधानले दिएको कुरा के हो ? हामीले कतिको जानेका छौँ,बुझेका छौँ र त्यसलाई कति केलाएका छौँ ? त्यो जान्न जरुरी छ । प्लिज यसलाई अन्यथा नमान्नु होला ।

हामीलाई चाहिने भनेको निजी क्षेत्र एक भएर जानुपर्छ । हामी बलियो भयौँ भने नै हामीले बोलेका कुराहरूको माग चाहिँ पूरा हुन सक्छ । अब गठन हुने सरकार दुई तिहाइ बहुमतको छ । उहाँहरूले चाहनुभयो भने जे पनि हुनसक्छ । महासङ्घमा पनि सहमतिसहित अगाडि बढ्नुपर्छ भन्ने पूर्व अध्यक्षहरूको सोच हो ।

पूर्वअध्यक्षको हैसियतले मेरो प्रस्ताव के हो भने सबैले मान्य किसिमले सर्वसम्मतिको बाटो पहिल्याउन सकिन्छ भने किन पहल नगर्ने ? यसका लागि हामी पूर्व अध्यक्षहरू लागिराखेका छौँ ।

अहिले प्यानल प्यानल जुन भनिरहेका छौँ यो आवश्यक छ ? अब वरिष्ठ उपाध्यक्ष भनेर जो चुनेर जो आउनुहुन्छ यसका लागि ३५ ओटै पूर्वउपाध्यक्षहरूसमेत वरिष्ठ उपाध्यक्षको उम्मेदवार हो ।

अब वरिष्ठ उपाध्यक्ष भए पनि अध्यक्ष हुने नहुने टु्ङ्गो छैन किनकी अध्यक्ष त सिधै चुनिएर आउनुपर्छ । अहिलेसम्मको जस्तो वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने रोलक्रम पनि छैन । वरिष्ठ उपाध्यक्ष भनेको अध्यक्षलाई सहयोग गर्ने मात्रै हो ।

वरिष्ठ उपाध्यक्षको भूमिका अब धेरै नदेखेकोले चुनिन सक्ने र सभ्भावित पदाधिकारीहरू एकपटक बसौँ । हामीले र म आफै यसका लागि अग्रसरता लिन्छु र एउटा बाटो खोलौँ ।

महासङ्घमा वस्तुगत वा एसोसिएटबाट सदस्य भइसकेपछि माथि पुगेर नेतृत्व गरौँ भन्ने त सबैको सपन हुन्छ नै ।

कहिलेकाही माथि चढ्न खोज्दा चिप्लिने सम्भावना पनि हुन्छ । म के चाहन्छु भने उपाध्यक्षहरू सबै योग्य हुनुहुन्छ, हामीले गुमाउन हुँदैन तर कहीलेकाहीँ मिलाएर जानुपर्ने हुनसक्छ । म कसैको मान्छे होइन र यो समूह,त्यो समूहमा छैन ।

हाम्रो झण्डा एउटै हो, निजी क्षेत्रको झण्डा । सबैको एउटै सोंच हुनुपर्छ ।

व्यक्तिबाजीको हिसाबले हामी जान थाल्यौँ भने अहिलेको ठुलो अवसर गुम्न सक्छ । यो अवसर भनेको हामी सबै एक भएर गयौँ भने ,हाम्रा हरेक मागलाई पूरा गर्न सकिन्छ । हामी बसौँ र हाम्रो ऐक्यबद्धता देखाएर हाम्रो माग पूरा गर्नेबाटोमा लागौँ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष श्रेष्ठले बुधबार ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा’ विषयक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश