स्याङ्जाको भीरकोटमा अवैध नदिजन्य पदार्थ ढुवानी गर्दै गरेको ट्याक्टर नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जाको भीरकोट नगरपालिकामा आँधिखोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार भइरहेको अवस्थामा एक ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा अन्तर्गत प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले बुधबार भीरकोट नगरपालिका–१ बेगमतीस्थित आँधिखोला क्षेत्रबाट मापदण्ड विपरीत ढुङ्गा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा उक्त ट्याक्टर फेला पारेको हो ।

प्रहरीका अनुसार अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी भइरहेको सूचनाको आधारमा गरिएको निगरानीका क्रममा ग १ त ६१११ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।