काठमाडाैँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौती सामना गर्न एसियाली विकास बैंक (एडिबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ ।
अर्थतन्त्रहरूमा परिरहेको तत्कालको चुनौतीहरु व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा ती देशको अर्थतन्त्रलाई मजबुत बनाउन एडिबीले प्याकेज घोषणा गरेको हो ।
बैंकका अध्यक्ष मासातो कान्डाले प्याकेजमार्फत सदस्य राष्ट्रहरूलाई द्रुत रूपमा वितरण हुने बजेट सहायता र अत्यावश्यक वस्तुहरूको आयात सुनिश्चित गर्न सघाउ पुग्ने बताएका छन् ।
उनका अनुसार व्यापार तथा आपूर्ति श्रृङ्खलालाई सहज पार्न वित्त व्यवस्था उपलब्ध गराइनेछ ।
विशेष गरी इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई सम्बोधन गर्न विभिन्न देशका लागि विश्व बैंकले वित्तीय सहयोग उपलव्ध गराउने गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
एडिबीकाअनुसार मध्यपूर्वको तनावका कारण ढुवानी मार्गहरूमा अवरोध आउँदा लागत र समय दुवै बढेको देखाएको छ ।
यसको प्रत्यक्ष असर ऊर्जा क्षेत्रमा मात्र नभई औद्योगिक कच्चा पदार्थ, पेट्रोकेमिकल्स र रासायनिक मलमा समेत परेको छ, जसले गर्दा कृषि र खाद्य उत्पादनमा गम्भीर संकट आउन सक्ने चेतावनी बैंकले दिएको छ ।
पर्यटन र रेमिट्यान्समा निर्भर रहने मुलुकहरूले मुद्रास्फीति र वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब खेप्नुपर्ने अवस्था सिर्जना भएको छ । विषम परिस्थितिमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न बैंकले आफ्नो ‘काउन्टरसाइकलिक सपोर्ट फेसिलिटी’ मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । यसले सरकारहरूलाई वित्तीय घाटा कम गर्न र लक्षित वर्गको जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
अध्यक्ष कान्डाका अनुसार, बैंकले गम्भीर रूपमा प्रभावित भएका सदस्य राष्ट्रहरूसँग तत्काल आवश्यक सहयोगबारे छलफल सुरु गरिसकेको छ ।
६९ सदस्य राष्ट्र भएको यस बहुपक्षीय विकास बैंकले निजी क्षेत्र र अन्य विकास साझेदारहरूसँग मिलेर गरिब तथा जोखिममा रहेका समुदायको सुरक्षाका लागि एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्