पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनः मन्त्री सिन्हा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा ले ठूला पूर्वाधार निर्माण भए पनि तिनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको स्वीकार गरेका छन् ।

बिहीबार आयोजित विदाई कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन स्पष्ट र कार्यान्वयनयोग्य योजना अभाव रहेको बताए। “संरचना बनायौँ, तर चलाउने ठोस मोडेल फेला पार्न सकेनौँ,” उनले भने ।

मन्त्री सिन्हाका अनुसार मन्त्रालय अत्यन्त अव्यवस्थित अवस्थामा रहेकाले कार्यभार सम्हाल्दा चुनौतीपूर्ण स्थिति थियो। पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारिए पनि निर्वाचनका कारण कार्यान्वयनमा जान नसकेको उनले स्पष्ट पारे ।

उनले नेपालको उड्डयन क्षेत्र अझै पनि युरोपियन युनियन को कालोसूचीमा रहनु मुख्य चुनौती रहेको उल्लेख गर्दै सुधारका लागि पहल सुरु भइसकेको जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरण सुधारको दिशामा अघि बढेको र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक संकेत देखिएको उनको भनाइ छ।

हवाई सुरक्षामा सुधारका लागि काठमाडौंमै हेलिकोप्टर चालक तालिम सुरु गरिएको उल्लेख गर्दै उनले यसअघि विदेशमा मात्र पाइने यस्तो तालिम स्वदेशमै उपलब्ध हुनु उपलब्धि भएको बताए ।

सिन्हाले पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष सुधारका लागि पनि कार्ययोजना तयार पारिएको जानकारी दिँदै आगामी सरकारले निरन्तरता दिएमा उड्डयन क्षेत्र सुधारले गति लिने विश्वास व्यक्त गरे।