काठमाडौँ । विश्व अर्थतन्त्रको ‘रिजर्भ करेन्सी’ मानिने अमेरिकी डलरमा अब अमेरिकी राष्ट्रपतिको हस्ताक्षर रहने भएको छ । अमेरिकी ट्रेजरी विभागले सन् १८६१ देखि चल्दै आएको अभ्यासलाई परिवर्रतन गर्रदै अब नयाँ छापिने डलर नोटहरूमा बहालवाला राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको हस्ताक्षर समावेश गर्ने घोषणा गरेको छ।
यसअघि अमेरिकी डलरमा ट्रेजरी सेक्रेटरी र युनाइटेड स्टेट्स ट्रेजररको हस्ताक्षर हुने गर्थ्यो। सन् १८६० को दशकदेखि चल्दै आएको अमेरिकी फेडरल रिजर्भ नोटको परम्परामा राष्ट्रपतिको हस्ताक्षर नराख्ने व्यवस्था रहँदै आएको थियो।
राष्ट्रपतिले विधेयकहरूमा हस्ताक्षर गरे पनि मुद्रा छाप्ने र त्यसको ग्यारेन्टी दिने काम ट्रेजरी विभागको स्वायत्त जिम्मेवारीभित्र पर्थ्यो।
विगत १६५ वर्षमा जर्ज वासिङ्टनदेखि जो बाइडेनसम्म कुनै पनि राष्ट्रपतिले आफ्नो हस्ताक्षर नोटहरूमा राख्ने प्रयास गरेनन्, न त त्यसको अनुमति नै पाएका थिए। सन् १९२९ देखि प्रचलनमा आएका साना आकारका नोटहरूमा दुई उच्च अधिकारीको हस्ताक्षर अनिवार्य थियो: ट्रेजरी सेक्रेटरी र ट्रेजरर।
ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टको निर्देशनमा हुन लागेको यो परिवर्तनलाई अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव (सेमिक्विनसेन्टेनियल) सँग जोडिएको छ। आगामी जुन २०२६ देखि बजारमा आउने १०० डलरको नोटमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर रहने जनाइएको छ।
ट्रेजरी सेक्रेटरी बेसेन्टले यसलाई “अभूतपूर्व आर्थिक वृद्धिको सम्मान” भनेका छन्।


प्रतिक्रिया दिनुहोस्