काठमाडौँ। मध्य-पश्चिममा जारी द्वन्द्वका कारण विश्वव्यापी ढुवानी मार्गमा अवरोध सिर्जना भएसँगै कच्चा तेल, प्राकृतिक ग्यास र रासायनिक मलको मूल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै विश्व बैंकले गम्भीर चासो व्यक्त गरेको छ ।
बैंकका अनुसार यो आपूर्ति अवरोधले उदीयमान बजारहरूमा लागत बढाउनुका साथै ऊर्जा र कृषि क्षेत्रमा नयाँ जोखिमहरू थपेको छ।
पछिल्लो समय बजारमा देखिएको यो उतारचढावका कारण फेब्रुअरी र मार्चको बीचमा मात्रै कच्चा तेलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ भने एसियातर्फ हुने तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी मूल्य पनि दुई-तिहाइले वृद्धि भएको बैंकले बताएको छ।
त्यस्तै, गत मार्च महिनामा नाइट्रोजनयुक्त मलको मूल्यमा ५० प्रतिशतसम्मको बढोत्तरी देखिएकाले यसले विश्वव्यापी खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्न सक्ने प्रक्षेपण गरिएको छ।
यसै सन्दर्भमा विश्व बैंक समूहले आफ्ना सदस्य राष्ट्रहरूलाई उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले हालै एक विशेष वक्तव्य जारी गर्दै द्वन्द्वका कारण सिर्जित यी आर्थिक चुनौतीहरूको सामना गर्न सरकार, निजी क्षेत्र र क्षेत्रीय साझेदारहरूसँग मिलेर काम गरिरहेको जानकारी दिएको छ।
बैंकले प्रभावित देशहरूलाई सहयोग गर्न ‘क्राइसिस रेस्पोन्स टुलकिट’ र ‘फास्ट-डिबर्सिङ इन्स्ट्रुमेन्ट’ (द्रुत-वितरण उपकरण) मार्फत सहयोग गर्ने तयारी गरेको छ। यस अन्तर्गत सरकार र घरधुरीहरूलाई तत्काल आर्थिक समस्याबाट जोगाउन वित्तीय सहयोग उपलब्ध गराइने छ।
त्यसैगरी, निजी कम्पनीहरूलाई अत्यावश्यक तरलता (Liquidity), व्यापार वित्त (Trade Finance) र कार्यशील पूँजी उपलब्ध गराउनुका साथै आर्थिक वृद्धि र रोजगारी पुनरुत्थानका लागि आवश्यक नीतिगत सुधारमा प्राविधिक सहयोग पुर्याइने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्