काठमाडौँ ।
च्याउ उत्पादक किसान सङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशन चैत २० र २१ गते आयोजना हुने भएको छ। सङ्घले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी नीति, कार्यक्रम र संरचनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्ने जनाएको छ।
सङ्घका प्रचार विभाग प्रमुख रमेश सापकोटाका अनुसार अधिवेशनमा च्याउ उत्पादन, प्रवर्द्धन र बजार विस्तारसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल गरिनेछ। साथै आगामी कार्यदिशा तय गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी पनि गरिएको छ।
सङ्घका अनुसार मुलुकभर करिब ३० हजार किसान व्यावसायिक च्याउ खेतीमा संलग्न छन्। अधिवेशन ललितपुरस्थित महालक्ष्मी नगरपालिका–९, लुभुमा रहेको सङ्घको नवनिर्मित केन्द्रीय भवनबाट सञ्चालन गरिनेछ। सोही अवसरमा सङ्घको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटनसमेत गरिने कार्यक्रम रहेको छ।
आयोजकले अधिवेशनलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जनाएको छ। देशभरबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा च्याउ उत्पादनलाई व्यवस्थित गर्दै व्यवसायीकरण र आत्मनिर्भर कृषि प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस्