सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन् ।
राष्ट्र संघकाअनुसार हाल सिरियामा करिव ५५ लाख मानिस विस्थापित भएका छन् भने १ करोड ३३ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेका छन् ।
खाद्य असुरक्षा खेपिरहेकामध्ये ७२ लाख मानिसले खाद्यान्नको चरम अभाव झेलिरहेका छन् । विहीबार आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला तथा आपतकालीन राहत संयोजक एवं संयुक्त राष्ट्र संघका उप–महासचिव टम फ्लेचर र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रशासक अलेक्जेन्डर डी क्रुले सिरियाली विदेश मामिला अधिकारी कुतैबा कादिससँगै सिरियाका लागि निरन्तर अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् ।
फ्लेचरले हालैका महिनाहरूमा सिरियामा केही सकारात्मक प्रगति भएको उल्लेख गरे पनि एक दशकभन्दा लामो युद्धका कारण मानवीय अवस्था अझै भयावह रहेको चेतावनी दिएका छन् । राष्ट्र संघको अनुमानअनुसार यस वर्ष सिरियामा कुल १ करोड ५६ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता छ ।
फ्लेचरले विश्वव्यापी रूपमा सहायता कोषमा भइरहेको कटौतीले मानवीय कार्यहरू प्रभावित भइरहेको कुरामा समेत जोड दिए । राष्ट्र संघको अनुमानअनुसार सन् २०२६ मा सिरियाको समग्र मानवीय प्रतिकार्यका लागि झन्डै २ अर्ब ९० करोड अमेरिकी डलर आवश्यक पर्नेछ ।
पत्रकार सम्मेलनअघि संयुक्त राष्ट्र संघका अधिकारीहरूले सिरियाका अन्तरिम नेता अहमद अल–शारा र विदेश प्रमुख असाद शैबानीसँग उच्चस्तरीय परामर्श गरेका थिए। सो भेटवार्ता मानवीय सहायता र पुनरुत्थानका प्रयासहरूको समन्वयमा केन्द्रित रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्