भक्तपुर । नयाँ वर्ष २०८३को अवसरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।
औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारी चौरमा महोत्सव हुन लागेको हो। भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिए ।
महोत्सवमा १ सय ८० भन्दा बढी स्टल रहनेछन् । स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ ।
मेलाको मुख्य आकर्णषको रुपमा ‘लन्डन बिज’ को प्रतिकृक्ति (स्ट्याचु) राखिने भएको छ । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलका साधनहरू व्यवस्था गरिनेछ । महोत्सवमा नृत्य प्रतिस्पर्धा, फेसन शो तथा राष्ट्रिय कलाकारको दैनिक विशेष साङ्गीतिक प्रस्तुति रहनेछ ।
महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । महोत्सवमा पाँच करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने र दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्