राष्ट्रिय सभामा कांग्रेस सचेतकको चेतावनी : सेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा


काठमाडौँ । राष्ट्रिय सभामा कृष्णबहादुर रोकाया ले सेयर बजारमा देखिएको गिरावट र बढ्दो त्रासप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारी गतिविधिका कारण बजारमा नकारात्मक सन्देश गएको र त्यसले ठूला लगानीकर्तासमेत बाहिरिने खतरा बढाएको बताएका हुन्।

सांसद रोकायाका अनुसार पछिल्लो समय सेयर बजारमा आएको गिरावटले लगानीकर्तामा निराशा बढाएको छ। “लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्,” उनले बताए। उनले नयाँ सरकार बनेपछि उद्योगी–व्यवसायी उत्साहित रहे पनि पछिल्ला सरकारी कदमले पूँजी बजारप्रति नकारात्मक धारणा बनेको दाबी गरे।

उनले सरकारकै ‘एक्शन’ का कारण अब पूँजी बजार बढ्न नदिने सन्देश गएको भन्दै यसले स्टक ब्रोकर एशोसिएसन नेपालका अनुसार नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको उल्लेख गरे।

“अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ,” उनले भने, “यसतर्फ सरकारको गम्भीर ध्यान जान आवश्यक छ।”

रोकायाले पूँजी बजार अब नबढ्ने भन्ने आशंका तत्काल हटाउन सरकारलाई आग्रह गर्दै लगानीकर्तामा विश्वास पुनःस्थापित गर्ने खालका निर्णय लिनुपर्नेमा जोड दिए।