विश्व बैंकले पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाको सूचिबाट झिक्यो


काठमाडौँ। विश्व बैंकले पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट औपचारिक रूपमा हटाएर ‘मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ (मेनाप) क्षेत्रमा समावेश गरेपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अस्तित्वमा प्रश्न उब्जिएको छ।

विश्व बैंकको संशोधित ‘डाटाबैंक मेटाडाटा’ अनुसार आर्थिक वर्ष २०२६ (जुलाई १, २०२६ ) देखि देखि लागू हुने गरि पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाली देशको सूचीबाट हटाएर खाडी र उत्तर अफ्रिकी राष्ट्रहरूसँगै सूचीकृत गरिएको छ। यो परिवर्तन केवल प्राविधिक मात्र नभई गहिरो सामरिक अर्थ राख्ने विज्ञहरूको बुझाइ छ।

एक तहमा यो समायोजन प्राविधिक मात्र देखिन्छ। बहुपक्षीय संस्थाहरूले समय-समयमा आफ्नो ऋण पोर्टफोलियो, आर्थिक मोडेल, आन्तरिक व्यवस्थापन संरचना र क्षेत्रीय रणनीतिहरू मिलाउनका लागि यस्ता वर्गीकरणहरू परिमार्जन गर्ने गर्छन्।

पाकिस्तानले पछिल्ला वर्षहरूमा साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतार जस्ता देशहरूसँग आफ्नो आर्थिक र कूटनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ।

विश्व बैंकका अनुसार पाकिस्तानको विशाल जनसङ्ख्या, ऋणको भार र ऊर्जा आवश्यकताहरू दक्षिण एसियाली मुलुकहरूभन्दा इजिप्ट जस्ता ‘मेना’ राष्ट्रहरूसँग बढी मेल खाने भएकाले वर्गीकरण फेरिएको हो।

स्मरणीय छ, खाडी र पूर्वी एसियामा भइरहेको उथलपुथलका बीच पाकिस्तानले एक ठूलो क्षेत्रीय भूमिका खोजिरहेको छ र आफूलाई विभिन्न ब्लकहरू बीच संवाद गर्न सक्ने ‘पुल’ को रूपमा प्रस्तुत गरिरहेको छ।

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण सन् २०१६ देखि शिखर सम्मेलनहरू नै ठप्प रहेको अवस्थामा विश्व बैंकको पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसियाली श्रेणीबाट बाहिर राख्नु अर्थपूर्ण मानिएको छ।

विश्व बैंकको तथ्याङ्क र क्षेत्रीय प्रतिवेदनहरूमा पाकिस्तान र अफगानिस्तानलाई अब २३ राष्ट्र सम्मिलित मेनाप क्षेत्रको एक प्रमुख हिस्साको रूपमा उल्लेख गर्न थालिएको छ।