काठमाडौँ । वल्र्डलिङ्क कम्युनिकेसनले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने भन्दै राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ ।
तेस्रो संस्करणमा प्रवेश गरेको यो अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
अघिल्ला सिजनहरूको सफलतासँगै ‘बीट द स्पीड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ ।
गत सिजनका विजेता हिकमत बोहोराले नगद रु. १ लाखसहित जस्ट क्रिकेट एकेडेमिमा तीन महिनाको प्रशिक्षण अवसर प्राप्त गरेका थिए ।
त्यसपछि उनी सुदूरपश्चिम रोयल्सबाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भएका थिए भने आफ्नो पहिलो खेलमै पहिलो विकेट लिँदै चर्चा बटुलेका थिए ।
२३ सहरमा कार्यक्रम
सिजन–३ को सुरुवात वैशाख ४ गते जनकपुरबाट भइसकेको छ । यससँगै कार्यक्रमले देशका २३ सहर समेट्ने राष्ट्रव्यापी यात्रा सुरु गरेको छ ।
कार्यक्रम तालिका अनुसार वैशाख ४ गते जनकपुर, वैशाख ५ गते लहान र राजविराज , वैशाख वैशाख ६ गते विराटनगर, वैशाख ७ गते दमक, वैशाख ८ गते इटहरी, वैशाख १० – मलंगवा र गौर, वैशाख ११ गते सिमरा र वीरगञ्ज, वैशाख १२ गते हेटौंडा र चितवन, वैशाख १३ बुटवल कार्यक्रम राखिएको छ ।
यस्तै वैशाख १४ गते भैरहवा,वैशाख १५ गते लमही र घोराही, वैशाख १६ गते नेपालगञ्ज, वैशाख १७ गते सुर्खेत, वैशाख १९ गते धनगढी,वैशाख २० गते महेन्द्रनगर , वैशाख २२ – बैतडी (पहिलो पटक समावेश), वैशाख २४ – पोखरा र वैशाख २६ गते काठमाडौँ कार्यक्रम तय गरिएको छ ।
प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिने कम्पनीले जनाएको छ ।
एन्ड्र्यू लियोनार्डको सहभागिता
यस सिजनमा चर्चित क्रिकेट कमेन्टेटर एन्ड्र्यू लियोनार्डको पनि सहभागिता हुने छ । यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्।
कार्यक्रमको विजेताले १ लाख रुपैयाँ, प्रथम उपविजेताले ५० हजार रुपैयाा र दोस्रो उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् ।
यसका अतिरिक्त, विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, बेंगलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्ने र सम्पूर्ण खर्च वल्र्डलिङ्कले व्यहोर्नेछ ।


प्रतिक्रिया दिनुहोस्