काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची अमेरिकासँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारेका छन् ।
अराघची युद्ध अन्त्य गर्न कूटनीतिक पहलका लागि रुसका अधिकारीहरू र राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को र सेन्ट पिटर्सबर्ग जाँदैछन् ।
आइतबार ओमान भ्रमण गरेका अराघचीले स्ट्रेट अफ होर्मुजमा ‘सबै प्रिय छिमेकीहरूको हितमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उपायहरू’मा छलफल केन्द्रित रहेको बताएका छन् ।
पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरू यदि वार्ता पुनः सुरु गर्न चाहन्छन् भने उनीहरू आफूहरूकहाँ आउन सक्ने टिप्पणी गरेका छन् ।
उनले आफ्ना दूतहरूको पाकिस्तानको राजधानी इस्लामाबादमा प्रस्तावित भ्रमण र वार्ता एक दिनअघि रद्द गरेका थिए ।
वार्ता अन्योल बनेपछि इरानी विदेशमन्त्री अराघचीले पछिल्ला २४ घण्टामा महत्वपूर्ण कूटनीतिक छलफल गरेका छन् ।
इरानको भ्रमण र वार्ताका प्रयास एक व्यापक कूटनीतिक पहलको हिस्सा जस्तो देखिएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । यो पहल इस्लामाबादबाट सुरु भएर मस्कट(ओमानको राजधानी) हुँदै पुनः इस्लामाबादसम्म केन्द्रित रहेको उल्लेख छ ।
यी भ्रमणपछि अराघची रुस जाने कार्यक्रम रहेको छ । यसबाट के स्पष्ट सन्देश जान्छ भने इरानले मध्यपूर्वमा आफ्नो उपस्थितिलाई सुदृढ गर्ने र क्षेत्रीय साझेदारहरूसँग समन्वय मजबुत बनाउने प्रयास गरिरहेको छ ।
यी भेटघाटहरूको मुख्य केन्द्रबिन्दु स्टे«ट अफ होर्मुज पनि रहेको छ । अमेरिकाको नौसेनाद्वारा लगाइएको कुनै पनि नौसैनिक अवरोधलाई इरानले लगातार अस्वीकार गर्दै आएको छ । अराघचीको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
रुस दशकौँदेखि इरानको रणनीतिक साझेदार रहँदै आएको छ र इरानले त्यहाँबाट राजनीतिक समर्थन हासिल गर्ने प्रयास गरिरहेको छ । अराघची आज रुस पुग्ने र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने सम्भावना छ ।
अन्तराष्ट्रिय सञ्चामाध्यमहरूका अनुसार सन्देश स्पष्ट छ—इरान क्षेत्रीय र सक्रिय कूटनीतिमा संलग्न छ ।
साथै, आगामी दिनहरूमा हुने प्रत्यक्ष वा अप्रत्यक्ष वार्ताअघि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले इरानले आफ्ना क्षेत्रीय साझेदारहरूसँग दृष्टिकोण र अडान साझा गर्दै समन्वय बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्