काठमाडौँ । इन्धनको मूल्यवृद्धिसँगै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा ५ प्रतिशतले बढाइएको छ। यातायात व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ भाडादर लागू गरेको जनाएको हो।
विभागका अनुसार सार्वजनिक सवारीसाधनको भाडा समायोजनसम्बन्धी व्यवस्था बमोजिम डिजेलको मूल्यमा आएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको हो। पछिल्लो पटक भाडा समायोजन गर्दा कायम रहेको डिजेलको मूल्यको तुलनामा हाल मूल्य बढेकाले नयाँ दर निर्धारण गरिएको विभागले जनाएको छ।
नयाँ निर्णयअनुसार अन्तरप्रदेश स्तरमा सञ्चालन हुने यात्रुवाहक बस, पहाडी र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक ट्रक तथा अन्य सार्वजनिक यातायात सेवाको भाडा ५ प्रतिशतले वृद्धि गरिएको छ।
विभागले संशोधित भाडादर सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुने जनाएको छ। यसअघि कायम भाडाभन्दा बढी असुल गर्न नपाइने र तोकिएको दरअनुसार मात्र भाडा लिन सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।
इन्धन मूल्यवृद्धिपछि यातायात व्यवसायीले सञ्चालन खर्च बढेको भन्दै भाडा समायोजनको माग गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्