निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड, निर्वाचनपछिको एकता अपरिहार्यः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रबाट हुने उल्लेख गरे। “निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन हो,” उनले भने।

उनका अनुसार पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ। निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव नहुने उनको भनाइ थियो।

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ ९सीएनआई० सँग सहकार्य गर्दै निजी क्षेत्रका साझा एजेण्डा अघि बढाइएको जानकारी दिए। उनले कालोबजारी ऐनजस्ता पुराना कानुन सुधार गर्ने प्रयास तथा ‘निजी क्षेत्र संरक्षण र प्रवर्द्धन योजना’ (पीएसपीपी) पारित हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

उक्त योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा निजी क्षेत्र अझ सशक्त रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सक्षम हुने विश्वास उनले व्यक्त गरे।

सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याउँदै ढकालले दुवै पक्षबीच ‘पक्ष–प्रतिपक्ष’ जस्तो सम्बन्ध हुन नहुने बताए। “निर्वाचनको प्रतिस्पर्धा मतदानको दिनसम्म मात्र सीमित हुनुपर्छ, त्यसपछि सबै पक्ष साझा एजेण्डामा एकजुट हुनुपर्छ,” उनले भने।

महासंघको आगामी नेतृत्व चयनबारे बोल्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सफल हुन नसकेको जानकारी दिए। नयाँ नेतृत्वले निजी क्षेत्रका बाँकी कामहरू पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।