‘गाउँघर चौतारी’ मा युवा–विज्ञ संवाद, कृषि–पर्यटन र उद्यमशीलतामा जोड


काठमाडौँ । काठमाडाैँकाे बानेश्वरस्थित थापागाउँमा रहेको ‘गाउँघर चौतारी बजार’ मा “नेतृत्व र उद्यमशीलतामा युवा” विषयक विचार–गोष्ठी सम्पन्न भएको छ।

नेपाल जेसिजको ‘चेम्बर अफ कमर्स पार्टनरसिप कमिसन’ को आयोजनामा भएको कार्यक्रममा कृषि, पर्यटन र युवा उद्यमशीलताबिचको सम्बन्धबारे छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को कृषि उद्यम केन्द्र (एईसी) का बोर्ड सदस्य प्रल्हाद दाहालले नेपालको रैथाने कृषि र दुग्ध क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै युवालाई यस क्षेत्रमा अवसर खोज्न आग्रह गरे। उनले ‘गाउँघर चौतारी’ जस्ता अवधारणाले अर्थतन्त्रको आधार बलियो बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन्।

त्यस्तै, पूर्व राजदूत भागिरथ बस्नेतले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास गर्दै स्वदेशमै अवसर सिर्जना गर्न युवालाई प्रेरित गरेका छन् । कार्यक्रममा लाखेचौर टोल सुधार समितिका सचिव रामहरी धिताल, रेन्ट एसइओ ब्रेनका सिइओ नवीन क्षेत्री तथा नेपाल जेसिज (२०२६) का राष्ट्रिय तालिम आयोग सचिव प्रवेश मल्लले प्रविधि, सामाजिक उत्तरदायित्व र उद्यमशीलताका विविध पक्षबारे धारणा राखेका थिए ।

२५ वर्षमुनिका युवाहरू र अनुभवी विज्ञबिचको अन्तरक्रियाले स्वदेशमै उद्यमशीलताको सम्भावना विस्तार गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा ‘कृषि, पर्यटन र साझेदारीमार्फत भविष्य निर्माण’ भन्ने अवधारणामा जोड दिइएको थियो।

गाउँको मौलिकता झल्काउने बाँसका संरचना र रैथाने खानपानसहित सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूमा उत्साह र ऊर्जा थपेको थियो। कार्यक्रममा मौलिक उत्पानहरु मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।