देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौँ । देशका विभिन्न ठाउँमा आज मध्यमदेखि भारी वर्षासम्मको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति नै केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी तराई क्षेत्रका भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । लुम्बिनीका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ ।