उद्योग समितिको कार्यसम्पादन समिक्षा र अगामी कार्यदिशाबारे छलफल


काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतको कार्यसम्पादन समीक्षा गर्दै समितिको अगामी कार्यदिशाबारे छलफल गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यसम्पदानको समिक्षाका साथै अगामी कार्यदिशाबारे छलफल गरेको समिति सभापति रहबर अन्सारी बताएका हुन ।

उनकाअनुसार बैठकमा समितिका पूर्वसभापति अब्दुल खानसँग अनुभवका साथै सुझाव समेत लिइएको छ । बैठकमा समिति सदस्यहरूले विगतका निर्णय कार्यान्वयन, अनुगमनको प्रभावकारिता तथा उपभोक्ता हितसँग सम्बन्धित मुद्दाबारे जिज्ञासा राखेको बताए ।

उनले भने, “यो मेरो सभापतित्वमा भएको पहिलो बैठक हो । बैठकमा विगतमा समितिले गरेको कार्यसम्पदानको विषयमा छलफल भयो । तत्कालीन समिति सभापति अब्दुल खानजीलाई हामीले छलफलमा बोलाएका थियौँ । उहाँसँगै समिति सदस्यहरुका केही सुझाव र प्रश्नहरु थिए । बैठकमा सचिवज्युले एउटा प्रजेन्टेसन पनि दिनुभयो । जसमा समितिका कार्यक्षेत्र र अधिकारको विषयमा सदस्यहरुलाई जानकारी गराउन र अगामी दिनमा बैठकले के कस्ता कार्यहरु गर्छ भन्ने विषयमा अस्पष्टता दिनको लागि यो बैठक थियो ।”

सभापति अन्सारीले पहिलो बैठक भएकाले कार्यसम्पादनको समिक्षा र कार्ययोजना स्पष्ट पार्ने उद्देश्यमा छलफल केन्द्रित भएको बताए ।