उपलब्धिलाई कार्यान्वयनमा लैजानु अबको मुख्य जिम्मेवारीः निवर्तमान अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउन भएका पहलहरू ऐतिहासिक रहेको बताएका छन् ।

बुधबार महासंघको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई संस्थाको ठूलो उपलब्धि भएको बताएका हुन् । निःवर्तमान अध्यक्ष ढकालले वर्षौँदेखि थाती रहेका कानूनी परिवर्तनका मुद्दाहरूलाई आफ्नो कार्यकालमा तार्किक निष्कर्षमा पु¥याउन प्रयास गरिएको बताए ।

विशेषगरी वैदेशिक प्रत्यक्ष लगानी र आन्तरिक लगानी प्रवद्र्धन, व्यवसायिक गतिविधि विस्तारमा रहेका बाधा हटाउन महासंघले प्रभावकारी भुमिका खेलेको उनले बताएका हुन् । निजी क्षेत्रका लागि वाधक मानिएको ‘कालो बजार ऐन’ र निजी क्षेत्रलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को दायरामा राख्ने जस्ता गम्भीर विषयहरूमा महासंघले सशक्त पैरवी गरेको उनको भनाइ छ ।

साथै, आन्तरिक पूँजी परिचालनमार्फत ठूला आयोजनाहरू अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास जगाउन पनि सफल भएको उनले दाबी गरे । ढकालले आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताका रूपमा सरकारद्वारा स्वीकृत ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ रहेको बताए । महासंघले तयार पारेको मस्यौदालाई वर्तमान सरकारले पहिलो क्याबिनेटबाटै हुबहु स्वामित्व लिएर पारित गर्नु निजी क्षेत्रको इतिहासमा महत्वपूर्ण मोड भएको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले विगतमा माग पूरा गराउन हड्ताल वा बन्द गर्नुपर्ने परम्परा रहेको बताउँदै अहिले सरकारले निजी क्षेत्रका एजेन्डालाई आफ्नै मानेर अघि बढाउनुले सरकार र निजी क्षेत्रको सम्बन्धमा नयाँ आयाम थपेको ढकालले बताए । आफू वरिष्ठ उपाध्यक्ष भएदेखि नै सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै ढकालले नवनिर्वाचित अध्यक्ष र कार्यसमितिलाई पूर्ण समर्थन रहने विश्वास दिलाए । उनले पदमा रहे पनि वा नरहे पनि आफू सधैँ निजी क्षेत्रको हकहितका लागि उपलब्ध हुने बताए ।

ढकालले  रोजगारी सिर्जना, राजश्व वृद्धि, पूर्वाधार निर्माण र आम जनतालाई सेवा प्रवाह गर्ने जस्ता सबै क्षेत्रमा नयाँ नेतृत्वसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गरे ।  

महासंघमा नयाँ नेतृत्व 

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ विधानअनुसार स्वतः अध्यक्ष बनेका छन् भने अञ्जनको समूहका अधिकांश उम्मेदवारी निर्वाचित हुँदा वस्तुगत उपाध्यक्ष भने हेमराजको समूहले जितेको छ ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिव घिमिरेले ६० मत पाए । एसोसियटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भए । पाण्डे प्रतिष्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

पाण्डेले १ हजार ७९ मत ल्याउँदा श्रेष्ठले ७५० मतमा चित्त बुझाउनुप¥यो । श्रेष्ठ उपाध्यक्षमा दोहोरिन चुनावी मैदानमा उत्रिएका थिए । उनी हेमराज ढकाल प्यानलकी हुन् । एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार निर्वाचित भए ।

जुना माथेमा १ हजार १५६ र अभिज्ञा मल्ल १ हजार ५९ मतसहित निर्वाचित  भए । ज्योत्सनाको प्यानलका शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७३२ मत पाए । एसोसियटतर्फ निर्वाचित अरु १७ सदस्यमध्ये १६ जना पाण्डेको प्यानलका छन् ।

एसोसिएट सदस्यतर्फ सचिन ढकालले १ हजार ३१८, हेमन्त गोल्छा १ हजार २०२, अम्बिकाप्रसाद पौडेल १ हजार १८३, उज्ज्वल कुमार श्रेष्ठ १ हजार १५६, शक्तिकुमार बेगानी १ हजार १४२, ऋषि अग्रवाल १ हजार १२२, सुशिल थापा १ हजार ९४, राजेशकुमार अग्रवाल १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भए । बटु ज्योत्सनाको प्यानलका हुन् ।

जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । शर्माले ८७ मत र श्रेष्ठले ८० मत पाए । उनीहरू दुवै जना अञ्जनको समूहका हुन् । केही पदमा अझै मतगणना जारी छ ।