जेनजी सहिदका सन्तानलाई वार्षिक ४ लाख ८० हजारको शैक्षिकवृत्ति र अभिभावकलाई १० लाखको स्वास्थ्य बीमा


काठमाडौं । गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारप्रति गरेको प्रतिबद्धता कार्यान्वयन गरेको छ। ग्रुपले सहिदका सन्तानलाई शैक्षिकवृत्ति तथा अभिभावकलाई स्वास्थ्य बीमा प्रदान गर्ने कार्यक्रमअन्तर्गत दोस्रो चरणको सम्झौता बिहीबार सम्पन्न गरेको हो।

यसअन्तर्गत २२ सहिदका ४३ जना बुवा–आमालाई वार्षिक १० लाख रुपैयाँसम्मको आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइने भएको छ। यसअघि पहिलो चरणमा २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गर्ने सम्झौता सम्पन्न गरिएको थियो।

सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको थियो। त्यसपछि गोल्याण ग्रुपले असोज २४ गते प्रेस विज्ञप्तिमार्फत सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो।

ग्रुपका अनुसार शैक्षिकवृत्तिअन्तर्गत सहिदका ३१ बालबालिकालाई प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको छ। उक्त सहयोगमा मासिक शुल्क, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, पुस्तक, स्टेशनरी, पोशाकलगायत सम्पूर्ण शैक्षिक खर्च समेटिएको छ।

शैक्षिकवृत्तिमा आबद्ध विद्यार्थीहरू काठमाडौं, ललितपुर, झापा, चितवन, पोखरा, बुटवल, सुनसरी र लहानका विभिन्न विद्यालयमा अध्ययनरत छन्।

शैक्षिक सहयोग आवश्यक नपर्ने सहिद परिवारका अभिभावकलाई भने स्वास्थ्य बीमामा समेटिएको ग्रुपले जनाएको छ।

स्वास्थ्य बीमा सम्झौता कार्यक्रममा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिदहरूको सम्मानस्वरूप उनीहरूको परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताए।

“उहाँहरूको बलिदानले मुलुकमा नयाँ प्रणालीको सुरुवात भएको छ। सहिदहरूको योगदानको मूल्यांकन गर्न सकिँदैन, हामीले उहाँहरूले परिवार र सन्तानका लागि देख्नुभएको सपना पूरा गर्ने जिम्मेवारी लिएका हौं,” उनले भने।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स तथा कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले ‘एक परिवार, एक जिम्मेवारी’ अवधारणाअनुसार कार्यक्रम सञ्चालन गरिएको बताइन्।

“राम्रो शिक्षाले एउटा बालक मात्र होइन, परिवार, समाज र देशलाई नै योगदान दिनसक्छ,” उनले भनिन्, “सहिदका बुवा–आमाको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बीमा महत्वपूर्ण हुने विश्वासका साथ हामीले यो दायित्व लिएका हौं।”

कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष तथा सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्याण ग्रुपले सहिद परिवारप्रति देखाएको सम्मानप्रति आभार व्यक्त गरे।

त्यस्तै, समाजका कोषाध्यक्ष तथा सहिद श्रीयम चौलागाईंका बुवा गणेशप्रसाद चौलागाईंले दुःखको समयमा गरिएका प्रतिबद्धता प्रायः कार्यान्वयन नहुने अवस्थामा गोल्याण ग्रुपले इमान्दारीपूर्वक सहयोग पूरा गरेको बताए।

सहिद गौरव जोशीका मामा जगदीश भट्टले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहयोग गरेर गोल्याण ग्रुपले अभिभावकत्वको भूमिका निर्वाह गरेको टिप्पणी गरे।

ग्रुपका अनुसार सहिद मिलन रायको परिवार भने कार्यक्रममा समेटिएको छैन। उनका बालबच्चा तथा बुवा–आमा नभएकाले मापदण्डअनुसार कार्यक्रम लागू हुन नसकेको जनाइएको छ।

यद्यपि, सहिद घोषणा नभए पनि आन्दोलनका क्रममा ज्यान गुमाएका दुई व्यक्तिका परिवारलाई पूर्वप्रतिबद्धताअनुसार १ जनालाई शैक्षिकवृत्ति र १ जनालाई स्वास्थ्य बीमा प्रदान गरिएको ग्रुपले जनाएको छ।