युक्रेनसँगको युद्ध टुङ्गिन सक्ने रुसी राष्ट्रपति पुटिनकाे सङ्केत


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले युक्रेनसँगको युद्ध टु्ङ्गिन सक्ने सङ्केत गरेका छन् ।

पुटिनले शान्ति सम्झौता टुङ्गिन्छ भने समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग तेस्रो मुलुकमा भेट गर्न तयार रहेको बताएका छन्।

यसअघि रुसको विजय दिवस परेडलाई सम्बोधन गर्दै युक्रेनमाथि विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । लगत्तै उनले युद्ध टुङ्गिन सक्ने सङ्केत गरेका हुन् ।

पुटिनको यो भनाई यतिबेला आएको छ जतिबेला युक्रेनले तीन दिने युद्धविराम सुरु गर्दै हजार युद्धबन्दीहरूको अदला–बदली गर्न सहमति जनाएको छ । यो भनाईले कूटनीतिक प्रगतिप्रति सावधानीपूर्ण आशा बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले युद्धका लागि पश्चिमका ‘ग्लोबलिस्ट अभिजात वर्ग’लाई दोष दिए ।

उनले भने, “१९८९ मा बर्लिन पर्खाल ढलेपछि नाटोलाई पूर्वतिर विस्तार नगर्ने वाचा गरिएको थियो, तर पछि युक्रेनलाई युरोपेली सङ्घको प्रभाव क्षेत्रमा ल्याउने प्रयास गरियो ।” त्यसपछि उनले घोषणा गरे“मलाई लाग्छ यो विषय अन्त्यतिर पुगेको छ ।”