त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा


काठमाडौँ । अवतरणका क्रममा टर्किस वायुसेवाको पाङ्ग्रामा आगो देखिएका कारण केही समय बन्द रहेको त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आएको छ । टर्किस वायुसेवाको जहाजलाई ट्याक्सीवेबाट हटाइएपछि विमानस्थल सञ्चालनलमा आएको हो ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा एउटा ठूलो दुर्घटना टरेको हो। इस्तानबुलबाट २८८ जना यात्रु र चालक दलका सदस्य बोकेर आएको टर्किस एयरलायन्सको ‘वाइडबडी’ विमान अवतरणका क्रममा पाङ्ग्रामा आगो लागेपछि केही समय विमानस्थलमा तनावको स्थिति सिर्जना भएको थियो।

बिहान ६:३४ बजे विमानस्थलको धावनमार्गमा अवतरण गरिरहेको बेला विमानको दायाँतर्फको मुख्य ‘ल्यान्डिङ गियर’को टायरमा अचानक आगो देखिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको ३० प्रतिशत भाग रनवेमा र बाँकी ७० प्रतिशत भाग ट्याक्सी-वे ‘ब्राभो’ मा अड्किएपछि विमानस्थलको सम्पूर्ण उडान र अवतरण सेवा ठप्प भएको थियो।

विमानमा आगो देखिनेबित्तिकै विमानस्थलका दमकल र उद्धार टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएका थिए। जहाजमा रहेका २७३ यात्रु, ११ चालक दलका सदस्य र ४ शिशुहरूलाई आपतकालीन ढोकाबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धारका क्रममा दुई जना यात्रुको औँलामा सामान्य चोट लागेको बाहेक अन्य सबै जना सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार प्रारम्भिक रूपमा ‘हार्ड ल्यान्डिङ’, टायरको चापमा गडबडी वा अन्य कुनै प्राविधिक समस्याका कारण टायरमा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसबारे थप स्पष्ट हुन प्राधिकरणको ‘फ्लाइट सेफ्टी विभाग’ र एमआरओ टोलीले विस्तृत अनुसन्धान सुरु गरिसकेका छन्।

यो घटनापछि करिब १ घण्टा ३८ मिनेटसम्म देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द रह्यो। बिहान ८:१२ बजे जहाजलाई ट्याक्सी-वेबाट तानेर पार्किङ क्षेत्रमा पुर्‍याएपछि मात्र उडान सेवा पुनः सुरु भएको थियो।

अवरोधका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका दर्जनाैँ उडानहरू प्रभावित भएका थिए।