विदेशी विनिमय सञ्चिती झण्डै ३५ खर्ब रूपैयाँ


काठमाडौँ । नेपालको कुल विनिमय सञ्चिती २०८२ चैत मसान्तमा ३४ खर्ब ९४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यो अवधिमा ३०.५
प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ चैत मसान्तमा ३० खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्त भन्दा २७.७ प्रतिशतले वृद्धि भएको हो । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ चैत मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड रूपैयाँ कायम भएको छ । २०८२ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेकोछ ।

आर्थिक वर्ष २०८२÷८३ को नौमहिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।