देशका धेरैजसो भूभागमा हल्कादेखि भारी वर्षा


काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले मुलुकका अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति सुदूरपश्चिमबाट प्रवेश गरेको वर्षा गराउने प्रणालीले मुलुकको धेरैजसो भूभागमा हल्कादेखि भारी वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ । कोशी प्रदेश लगायत पूर्वी भूभागको मध्यपहाडी क्षेत्रमा वर्षा भएको छ ।

दिउँसो र अपराह्न पुनः वर्षाको सम्भावना रहेको र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम बढी सक्रिय रहने देखिएको महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहितको मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना अझै रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।