काठमाडाैँ । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय संकल्पलाई सफल बनाउन ऊर्जा दशक घोषणा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
इप्पानले आयोजना गरेको एक कार्यक्रममा उनले अहिले शक्तिशाली सरकार बनेको र राजनीतिक इच्छाशक्ति पनि बलियो रहेको बताउँदै उनले ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर नेपाल बनाउन र १० वर्षभित्र ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्न सम्भव रहेको बताए ।
उनकाअनुसार यसका लागि दशक घोषणा गरेर अघि बढ्नुपर्छ । एक दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी १० वर्षका लागि ‘सनसेट ल’ लागू गर्ने प्रयास वर्तमान सरकारले गरिरहेको समेत बताए । सांसद न्यौपानेले नेपालमा पानी, घाम र हावाबाट मात्रै डेढ लाख मेगावाटसम्म हरित ऊर्जा उत्पादन गर्न सकिने सम्भावना अध्ययन तथा अनुसन्धानले पुष्टि गरिसकेको उल्लेख गर्दै अहिले पनि देशले पेट्रोलियम पदार्थ आयातमा झन्डै ३ खर्ब रुपैयाँ खर्च गरिरहेको बताएका हुन् ।
न्यौपानेकाअनुसार अब नेपाल भाषणले होइन, ऊर्जा क्रान्तिले बन्नुपर्छ । प्रत्येक नेपालीको घरमा विद्युतीय भान्सा, प्रत्येक खेतमा विद्युतीय सिँचाइ र प्रत्येक सहरलाई ईभी–मैत्री बनाउनुपर्छ । साथै उद्योगहरूलाई सस्तो र भरपर्दो बिजुली उपलब्ध गराउनुपर्ने तथा अतिरिक्त विद्युतबाट ग्रीन हाइड्रोजन उत्पादनतर्फ जानुपर्ने उनको भनाइ छ ।
पर्याप्त विद्युत उत्पादन भए उद्योग सञ्चालनमा आउने, रोजगारी सिर्जना हुने र आर्थिक विकासले गति लिनेछ । सांसद न्यौपानेले ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई खुला प्रतिष्पर्धाको वातावरण दिनुपर्ने बताए ।
उनले एकद्वार प्रणाली लागू गर्न, प्रशारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा ऊर्जा क्षेत्रको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने समेत बताए ।
न्यौपानेले अब नेपाल विद्युत् प्राधिकरण को एकाधिकार अन्त्य गरी प्रतिस्पर्धात्मक ऊर्जा बजारतर्फ जानुपर्ने उल्लेख गरे । साथै बैंक, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा विभिन्न कोषहरूको लगानी ऊर्जा क्षेत्रमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्