चीनको वैदेशिक व्यापार २० प्रतिशतले बढ्यो,चिप र मेमोरी निर्यातमा शतप्रतिशतभन्दा बढी वृद्धि


काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विश्वव्यापी लगानी र उच्च प्रविधियुक्त उत्पादनको बढ्दो मागका कारण चीनको वैदेशिक व्यापार सन् २०२६ को पहिलो १० महिनामा २० प्रतिशतले बढेको छ ।

चीनको भन्सार प्रशासन (न्ब्ऋ) का अनुसार जनवरीदेखि अक्टोबरसम्म चीनको कुल वस्तु आयात–निर्यात कारोबार २० प्रतिशतले बढेर ४४.८१ ट्रिलियन युआन (करिब ६.६७ ट्रिलियन अमेरिकी डलर) पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त अवधिमा चीनको आयात २३.६ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १७.६ प्रतिशतले बढेको छ । पहिलो नौ महिनासम्म १८.८ प्रतिशत रहेको व्यापार वृद्धि दर अक्टोबरमा पुगेपछि २० प्रतिशतमा उक्लिएको हो । अक्टोबर महिनामा मात्रै चीनको कुल वस्तु व्यापार ३१.२ प्रतिशतले विस्तार भएको तथ्याङ्कले देखाएको छ । यससँगै चीनको आयात र निर्यात दुवैले लगातार छैटौं महिनासम्म दोहोरो अङ्कको वृद्धि कायम राखेका छन् ।

यस वर्ष चीनको व्यापार विस्तारमा आयात पक्ष विशेष रूपमा बलियो देखिएको छ । चीनले १५० भन्दा बढी देश तथा क्षेत्रबाट आयात वृद्धि गरेको छ भने आसियान, ल्याटिन अमेरिका तथा अफ्रिकी मुलुकहरूबाट भएको आयातले नयाँ कीर्तिमान बनाएको छ ।

अधिकारीहरूका अनुसार चीनको विशाल उपभोक्ता बजारले विश्वका उत्पादक र निर्यातकर्ताका लागि अझै पनि आकर्षक अवसर प्रदान गरिरहेको छ ।

निर्याततर्फ भने यान्त्रिक तथा विद्युतीय उत्पादनहरूले प्रमुख भूमिका खेलेका छन् । यस्ता उत्पादनको निर्यात २५.२ प्रतिशतले बढेर कुल निर्यातको ६४.७ प्रतिशत हिस्सा पुगेको छ। विश्वभर एआई पूर्वाधारमा भइरहेको ठुलो लगानीका कारण चिप, मेमोरी, कम्प्युटर पाट्र्स तथा अन्य इलेक्ट्रोनिक कम्पोनेन्टको माग बढ्दा चीनले त्यसको प्रत्यक्ष लाभ उठाएको विश्लेषकहरूको भनाइ छ ।

उत्पादनवृद्धि दर
एकीकृत सर्किट (Integrated Circuits)१०१.९%
मेमोरी कम्पोनेन्ट१३२.५%
थ्रिडी प्रिन्टर१०४.८%
डिजिटल क्यामेरा४१.४%
औद्योगिक रोबोट१७.८%

विशेषगरी स्मार्ट र हरित प्रविधिसम्बन्धी उत्पादनको निर्यात तीव्र गतिमा बढेको छ। सेमिकन्डक्टर, मेमोरी चिप, थ्रीडी प्रिन्टर र औद्योगिक रोबोटजस्ता उच्च प्रविधियुक्त उत्पादनले चीनको निर्यात वृद्धिलाई नयाँ उचाइमा पु¥याएका छन् ।

चीनले प्राथमिकतामा राख्दै आएको ‘नयाँ तीन’ अर्थात् विद्युतीय सवारी साधन (इभी), सौर्य ऊर्जा उपकरण र लिथियम ब्याट्रीको निर्यात पनि उल्लेखनीय रूपमा बढेको छ ।

यी तीन क्षेत्रको संयुक्त निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विद्युतीय मोटरसाइकल तथा साइकलको निर्यात ३३.३ प्रतिशत र पवनचक्की तथा त्यसका उपकरणको निर्यात १९.७ प्रतिशतले बढेको छ। यसले चीनको हरित प्रविधि उद्योग विश्व बजारमा झन् प्रतिस्पर्धी बन्दै गएको सङ्केत गरेको छ ।

व्यापार साझेदारका हिसाबले हेर्दा चीनको आसियानसँगको व्यापार २४.२ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घसँग ८.५ प्रतिशत र अमेरिकासँग ६.३ प्रतिशतले वृद्धि भएको छ । बेल्ट एन्ड रोड पहलमा आबद्ध मुलुकहरूसँगको व्यापार पनि १८.५ प्रतिशतले विस्तार भएको छ ।

विश्लेषकहरूका अनुसार एआई लगानी चक्र अझै विस्तारकै चरणमा रहेकाले चीनको इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टर आपूर्ति शृंखलाले आगामी महिनाहरूमा पनि लाभ लिन सक्नेछ। साथै विश्वव्यापी हरित ऊर्जा रूपान्तरण र विद्युतीय सवारी साधनको बढ्दो मागका कारण नयाँ ऊर्जा, जहाज निर्माण तथा उन्नत यान्त्रिक उपकरणको निर्यात वर्षको अन्त्यसम्म पनि बलियो रहने अपेक्षा गरिएको छ ।

चीनको पछिल्लो व्यापार तथ्याङ्कले अब परम्परागत श्रममुखी उत्पादनभन्दा एआई, सेमिकन्डक्टर, विद्युतीय सवारी साधन, ब्याट्री र हरित ऊर्जा प्रविधिजस्ता उच्च मूल्य अभिवृद्धियुक्त उद्योगहरू नै निर्यात वृद्धिका प्रमुख चालकका रूपमा उदाइरहेको स्पष्ट सङ्केत दिएको छ।