काठमाडाैँ । सरकारले संघीय संसदमा प्रश्तुत गरेको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको नेकपा एमालेका सांसदहरुले आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा बिहीबार भएको छलफलका क्रममा उनीहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रममा शासकीय स्वरुप, आर्थिक तथा समाजिक कुनै पनि कुराको स्पष्ट मार्गचित्र नभएको आरोप लगाएका हुन् ।
एमाले सांसद सुहाङ नेम्वाङले सरकारले जनताको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए । उनले देश आर्थिक परनिर्भरताको भारीमा थिचिएको उल्लेख गर्दै प्रश्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ संकल्प नदेखिएको आरोप लगाए ।
उत्पादनबिनाको बजार र वितरणको सपना केवल भाषणमा मात्रै सीमित हुने उनको भनाइ छ । उनले नेपाली उत्पादनमुखी अर्थतन्त्रको बाटो समात्नुपर्नेमा जोड दिए । सुशासन त्रासबाट नआउने उल्लेख गर्दै बलियो प्रणाली र पद्धतिबाट सम्भव हुने उनले बताए ।
उनले समाजको एउटा वर्ग भोकै, अपमानित र उपेक्षित रहँदासम्म भौतिक विकासले मात्रै समृद्धि नआउने उल्लेख गरे । संविधान संशोधन केवल संशोधनकै लागि मात्रै गर्न नहुनेमा जोड दिए । जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै अग्रगमनका लागि हुनुपर्ने बताए । बहुमतको गणितले मात्रै संविधानका अक्षर कोर्न नहुने उल्लेख गर्दै उनले राष्ट्रको साझा भावना र सहमतिले मात्रै स्थायित्व दिने बताएका हुन् ।
एमाले प्रमुख सचेतक ऐन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाए । नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्ने अपेक्षा गरेपनि त्यसो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
नीति तथा कार्यक्रम सरकार आफैंले लेखेको हो कि कतैबाट ल्याइएको हो ? भन्ने प्रश्न उठाए । सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानवादको आधारमा नआएको आरोप लगाउँदै उनले यसको राजनीतिक आधार र मान्यता स्पष्ट नभएको दाबी गरे ।
उनले २०६२/६३ सालको जनआन्दोलन, शहीद र आन्दोलनका योद्धाहरूलाई नीति तथा कार्यक्रममा सम्मानपूर्वक स्मरण नगरिएको भन्दै खेद व्यक्त गरे । उनले सरकारको लोकतन्त्र र शासकीय स्वरूपबारे स्पष्ट दृष्टिकोण नआएको भन्दै संविधान संशोधनको बहसले थप संशय सिर्जना गरेको उल्लेख गरे । साथै, संविधान संशोधन बहसपत्र तयार गर्ने जिम्मा “राजा आउ देश बचाउ” भन्ने व्यक्तिलाई दिइएको आरोप समेत लगाए ।
एमाले सांसद क्षितिज थेवेले सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गरे । उनले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र नीति तथा कार्यक्रममा प्रतिविम्बित नभएको बताए ।
राजस्व नीति के हो ? उत्पादनमुखी अर्थतन्त्रको आधार के हो ? भन्ने आधार नै उल्लेख नभएको उनको भनाइ छ । उनले रोजगारी सिर्जनाको स्पष्ट खाका कहाँ छ ?” भन्दै सरकारसँग प्रश्न गरे । उनले डिजिटाइजेशनलाई मात्रै आर्थिक रूपान्तरणको आधार बनाउन नहुने उल्लेख गर्दै प्रविधि, अनुसन्धान र नवप्रवद्र्धनमा आधारित उद्यमशीलतामार्फत बलियो अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखे ।
नेपालका तीनमध्ये दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले एउटा विमानस्थललाई वैदेशिक रोजगार र अर्को विमानस्थललाई पर्यटन केन्द्रित बनाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउनुपर्ने सुझाव दिए ।
उनीहरूले गरिब तथा विपन्न नागरिकका लागि नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नआएको बताए । नीति तथा कार्यक्रम केवल घोषणामैत्री मात्रै बनेको उनीहरूले टिप्पणी गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र केहीलाई पनि नीति तथा कार्यक्रमले समेट्न नसकेको उनीहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्