काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन फ्रान्स जाने भएकी छिन् ।
महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिबल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले डंगाेल फ्रान्स जान लागेकी हुन् ।
भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेण्डा रहेको बताइन् । अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीय स्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ समेत आयोजना गर्ने तयारी गरेको छ ।
डंगोलकाअनुसार यो कार्यक्रम पूर्णरूपमा समुदायमा आधारित हुनेछ । यस अभियानले टोल स्तरमा पुगेर चलचित्र, संगीत तथा समग्र सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा विमर्श गर्ने र महोत्सवको रूपमा वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ । यसले आगामी दिनमा आयोजना हुने ‘काठमाडौँ फिल्म फेस्टिबल’ का लागि सकारात्मक माहोल तयार गर्ने विश्वास लिइएको छ ।
आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि कार्यवाहक प्रमुख डंगोलले कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेकी छिन् । ज्येष्ठताका आधारमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर डंगाेल कान्सतर्फ प्रस्थान गर्न लागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्