तेस्रो मेयर कप चेस: सल्याम शर्मा च्याम्पियन


ललितपुर । जेसिआई पाटनको आयोजनामा सम्पन्न ‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’को उपाधि सल्याम शर्माले जितेका छन्। पाटन हाई स्कूल परिसरमा आज सम्पन्न प्रतियोगितामा देशभरबाट आएका १४२ खेलाडीलाई पछि पार्दै शर्मा च्याम्पियन बनेका हुन्।

विजेता शर्माले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। प्रतियोगितामा एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो र सीएम नबिन तन्डुकार पाँचौं स्थानमा रहे। प्रतियोगितामा कुल ५६ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

समापन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। यसअघि प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का अध्यक्ष राजु महर्जनले गरेका थिए। कार्यक्रममा जेसिआई पाटनकी अध्यक्ष जेसी. आरती तण्डुकारले चेस खेलको प्रवर्द्धन र बौद्धिक खेल संस्कृतिको विस्तारमा यस्ता प्रतियोगिताको महत्वबारे प्रकाश पारेकी थिइन्।

प्रमुख निर्णायक महेश्वर डंगोलको रेखदेखमा सञ्चालित सो प्रतियोगितामा विभिन्न उमेर समूह र विधामा गरी अन्य थुप्रै खेलाडीहरूले पनि पुरस्कार हात पारेका छन्। जसमा अनरेटेड, महिला, यू-१६, यू-१४, यू-१२, यू-१०, १७०० मुनि र भेट्रान गरी विभिन्न समूहहरू रहेका थिए।

चेस खेलको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खेलाडी, अभिभावक र खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।