शैक्षिक परामर्श संस्था दर्ता तत्काल खोल्न सरकारको ध्यानाकर्षण


काठमाडाैँ । नेपालका प्रमुख शैक्षिक परामर्श व्यवसायी संस्थाहरुले नयाँ शैक्षिक परामर्श संस्था दर्ता प्रक्रिया तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, राष्ट्रिय शैक्षिक परामर्श संघ, ऐरी नेपाल र नेपाल शैक्षिक परामर्श सेवा संघले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन् । 

शैक्षिक परामर्श व्यवसायी संस्थाहरुको दर्ता प्रक्रिया नखुलेकै कारण सयौं व्यवसायी अन्योलमा परेको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै ऐरी नेपालका महासचिव राजेन्द्र रिजालले विश्वव्यापी शिक्षा, करियर विकास, भाषा अध्ययन तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरसँग जोडिएको शैक्षिक परामर्श क्षेत्र नेपालको शैक्षिक, सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित भइसकेको भएपनि यस क्षेत्रलाई व्यवस्थित बनाउने नाममा दर्ता र नवीकरण प्रक्रिया नै ठप्प पारेको भन्दै आपत्ति जनाए ।

उनले विद्यमान शैक्षिक परामर्श मापदण्डलाई सार्वजनिक सूचना जारी गरी तत्काल दर्ता प्रक्रिया खुला गर्दै परामर्श सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी नियमनको व्यवस्था गरिनुपर्ने माग गरे ।

उनले शिक्षा मन्त्रालयअन्तर्गतका केही कर्मचारीले अन्य निकायसँग समन्वय गरी  परामर्श क्षेत्रलाई अन्योल, अविश्वास र नकारात्मक प्रभावतर्फ धकेल्न खोजेको आरोपसमेत लगाए ।

उनले परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन आफूहरु प्रतिवद्ध रहेको उल्लेख गर्दै सरकारले उचित निर्णय गरी अन्योलको अन्त्य गर्नुपर्ने बताए ।

सरकारले जारी गर्न लागेको शैषिक परामर्शसम्बन्धी नियमावलीमा सरोकारवालाहरुसँग पर्याप्त छलफल गरिनुपर्ने समेत उनको माग छ ।