प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्ष दलहरुको निष्कर्ष, माफी माग्न माग


काठमाडाैँ । विपक्ष दलहरुले भारतसँग सीमा सम्बन्धि प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसदमा आएर माफी माग्न माग गरेका छन् । 

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलमा बसेको विपक्ष दलहरुको बैठकले प्रधानमन्त्रीले संसदमा नेपालको पनि भारतको धेरै ठाउँ मिचेको भनेर दिएकाे अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री साहलाई सचेत गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसदमा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निश्कल राईले बताए । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सचेतक राईले भने,”हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भयो । त्यहाँ नेपालले भारतको भुमि अतिक्रमणनै गरेको भनेर जुन खालको अभिव्यक्ति । यो अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति छ । यो राष्ट्रघाती खालको अभिव्यक्ति छ । मिचेको होइन भने उहाँले संसदमा आएर त्यही गरिमामय रोष्टमबाट माफी माग्नुपर्दछ  भन्ने हाम्रो आजको अडान हो । हामीले यस्ता खाला अभिव्यक्तिहरुले हाम्रो सार्वभौमिकतामा राम्रो गरिराखेको छैन । त्यसो भएको हुनाले उहाँले माफी माग्नुपर्दछ भन्ने हो ।”

त्यसैगरी विपक्ष दलहरुले सभामुख डोलप्रसाद अर्यालले संसदको नियमावली विपक्ष दलहरुलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएको छ । विपक्ष दलहरुलाई पेलेर संसदको नियमावली पास गराउने सभामुख अर्यालको भूमिका दुःखद् भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलकी उपनेता पद्या अर्यालले बताइन् ।

विपक्ष दलहरुले सभामुख अर्यालको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।