काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीद्वारा संसदमा नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा जवाफ माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सरकार र प्रतिपक्ष एक हुनुपर्नेमा जोड दिए ।
सांसद राईले प्रधानमन्त्रीले गत दिनुभएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको भन्दै त्यसलाई अविलम्ब सच्याउनुपर्ने माग गरे । उनले नेपाल–भारत सीमा मिचिएको विषयमा प्रधानमन्त्रीले बिना प्रमाण र पुष्टि बोलेको भए त्यसका लागि ३ करोड नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राखे ।
बैठकमा सांसद राईले प्रधानमन्त्रीको सदनमा उपस्थितिको विषयलाई लिएर संवैधानिक र कानूनी प्रश्नसमेत उठाए । प्रतिनिधि सभा नियमावलीको नियम ४ को उपनियम (१) बमोजिम प्रत्येक सदस्यले बैठकमा उपस्थित हुनुअघि हाजिर गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे ।
उनले संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) लाई उद्धृत गर्दै यदि प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य नरहेको अवस्थामा निजको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीले सदनका बैठकहरूमा नियमित हाजिर गरे÷नगरेको विषयमा अभिलेख शाखाबाट स्पष्ट जानकारी गराउन सभामुखसँग माग गरे ।
सांसद राईले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादका सम्बन्धमा सदनमा आएर तथ्यगत पुष्टि गर्नुपर्ने र हल्का टिप्पणी गर्न नहुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्